८ वैशाख २०८१ शनिबार
खेल

वार्षिकोत्सवमा खेलाडी र प्रशिक्षकलाई सम्मान

आइटिएफ तेक्वान्दो संघको २० औं वार्षिकोत्सवका अवसरमा खेलाडी र प्रशिक्षकलाई पुरस्कृत तथा सम्मान गरिएको छ।  

वार्षिकोत्सवका अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश १ का आइटिएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक र उत्कृष्ट जिल्लालाई पुरस्कृत तथा सम्मान गरिएको हो। सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बू रहेका छन्। त्यस्तै मोरङका राजेन्द्र धिमाल प्रदेशकै उत्कृष्ट प्रशिक्षक र मोरङकै नितेश खवास उदियमान प्रशिक्षक घोषित भए। प्रदेश १ कै उत्कृष्ट जिल्ला सुनसरी बनेको छ भने मोरङको कानेपोखरी डोजाङ्ग पनि उत्कृष्ट घोषित भयो।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले खेलाडी, प्रशिक्षक र उत्कृष्ट डोजाङ्गलाई नगद ५ हजार रुपैयाँकासाथ सम्मानपत्र प्रदान गरे। सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले आत्मरक्षा र अनुशासनका लागि खेल प्रत्येक व्यक्तिको जीवनमा अपरिहार्य एवं महत्वपूर्ण रहेको बताए। सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे। अब प्रदेश सरकारले प्राथमिकतामा राख्दै खेल क्षेत्रको विकासमा लाग्ने मुख्यमन्त्री राईले बताए।

‘अनुशासन र आत्मरक्षाका लागि आइटिएफ तेक्वान्दो सबैको प्राथमिकतामा पर्ने गरेको छ,’ मख्यमन्त्रीले राईले भने, ‘नेपालमा आइटिएफ तेक्वान्दोको स्थापनाका लागि मेरो पनि महत्वपूर्ण योगदान छ। म यसको संस्थापक कोषाध्यक्ष हुँ।’ आइटिएफ मार्सल आर्टसभित्रको सबैभन्दा सफल खेलका रूपमा स्थापित भइसकेको बताउँदै राईले खेल क्षेत्रले मुलुककै उचाई बढाउन ठूलो योगदान गरिरहेको बताए। प्रदेश सरकारसँग बजेट अभाव रहे पनि अब खेलकुदको विकासका लागि योजना बनाएरै अघि बढ्ने तयारी रहेको उनले बताए।

संघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रवीण कार्कीले वार्षिक उत्सवका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङ्गलाई सम्मान गरिएको जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०७८ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App