१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेश २ को रोमाञ्चक जित

मध्यक्रमका ब्याटर आदिल अन्सारीको विस्फोटक ब्याटिङप्रेरित प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य प्रदेश २ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

१९.२ ओभरमा ९२–५ को स्थितिमा ब्याटिङका लागि आएका अन्सारीसँग गुल्सन झाले छैटौं विकेटका लागि ९३ रनको साझेदारीका साथ टोलीलाई जित दिलाएका थिए। अन्सारीले ४३ बलमा ७ चौका र १ छक्काको मद्दतमा ८७ रन बनाए भने गुल्सनले ५३ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रन बनाए। 

त्यस्तै अमित यादवले ७५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाए। ओपनर सन्तोष कार्की र रोहन विकले क्रमशः २१ र २३ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ४० रन खर्चंदै ३ विकेट लिँदा नरेन्द्र साउदले १० ओभरमा ५६ रन खर्चंदै ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको सुदूरपश्चिमले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९० रनको विशाल योगफल खडा गरेको थियो। सुदूरपश्चिमका लागि अर्जुन साउदले १ सय १६ रन बनाए भने लोकेश बमले ८१ रन जोडे। ८२–३ को स्थितिमा रहेको सुदूरपश्चिमको इनिङ चौथो विकेटका लागि अर्जुन र लोकेशले १ सय ४२ रनको साझेदारी गर्दै उकासेका थिए।

अर्जुनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरे भने लोकेशले ७३ बलमा १३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै नरेश भट्टले ३० रन बनाउँदा वसन्त कार्कीले २७ रन जोडे। प्रदेश २ का प्रदीप पासवालने ४.४ ओभरमा ३१ रन खर्चंदै ३ विकेट लिए। त्यस्तै विकेक यादव र अजय यादवले समान २ विकेट लिए।

बिहीबार नै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७३ रनले हरायो। प्रदेश १ ले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६३ रन मात्र जोड्न सक्यो। यसअघि प्रदेश १ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३९ रनको योगफल खडा गरेको थियो।

प्रकाशित: १० मंसिर २०७८ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App