१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रदेश खेलकुद बोर्डको योजना सार्वजनिक

प्रदेश १ खेलकुद विकास बोर्डले आफ्नो विकास योजना सार्वजनिक गरेको छ। प्रदेशमा भइरहेको खेलकुद संरचनालाई व्यवस्थित पार्दै खेल र खेलाडीको विकासका लागि बनाइएको नयाँ योजना सार्वजनिक गरेको हो।  

प्रदेश खेलकुद बोर्डले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै भइरहेको काम र नयाँ योजनाबारे बताएको छ। बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले असोजमा हामीलाई सरकारले असोज २४ गते नियुक्त गरेपछि सुतेको खेलकुदलाई जगाउने काम गरेका छौं। उनले भने, ‘थोरै समयमा धेरै महत्वपूर्ण नीतिगत र व्यवस्थापकीय काम सम्पन्न गरेका छौं।’

प्रदेशका सबै जिल्लाका खेलकुद विकास समितिलाई पूर्णता दिँदै खेलको विकासका लागि नयाँ योजना तर्जूमा गर्ने काम भइरहेको बस्नेतले बताए। बोर्ड गठन भएपछि भएका कामबारे जानकारी दिँदै सदस्यसचिव बस्नेतले भने, ‘सरकारले राजीनामा माग नगर्ने र नवगठित सरकारले सहयोग गर्ने विषयमा हामीहरु ढुक्क छौं। यदि सरकारले राजीनामा माग गरे कानूनको सहारामा जान्छौं।’

बोर्ड वैधानिक रुपमा चयन भएको हुँदा वर्तमान सरकारले सदस्यको राजीनामा माग्नु उपयुक्त नहुनेमा जोड दिए। ‘अहिले एमालेलाई अन्य दलहरु मिलेर घेराबन्दीमा पार्ने काम गरेका छन्,’ सदस्य सचिव बस्नेतले भने, ‘प्रतिशोध राखेर सरकारले निर्णय नगर्ला। यदि गरे कानूनी पाटोमा अघि बढ्ने छौं। राजनैतिक नैतिकता सरकारले देखाउनु पर्छ।’ ५ दलीय गठबन्धनले प्रदेशको जिम्मेवारी लिए लगत्तै मन्त्रीपरिषद्को पहिलो बठैकको निर्णयबाट अघिल्लो सरकारले गरेको निर्णय खारेजी गर्ने बताएको छ।

४ वर्षे कार्यकालका लागि सरकारले वैधानिक रुपमा चयन भएको दाबी गर्दै सदस्य सचिव बस्नेतले सरकारले बोर्डलाई नचलाउने हुँदा बोर्डसमेत प्रतिशोधमा नउत्रने प्रष्ट पारे। बोर्ड गठन भएपछि ३ वटा बैठक सम्पन्न भएको र त्यसबाट खेलकुदका भौतिक संरचना, खेल र खेलाडीको स्तरोन्नतीका लागि महत्वपूर्ण केही निर्णय भएको बताए।

बैठकले बोर्ड र जिल्ला खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ५ लाख रुपैयाँ विभिन्न २६ वटा शीर्षकमा विनियोजन गरिएको बताइएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई आवश्यक कानून निर्माण गरेर मासिक रुपमा प्रोत्साहन भत्ता लागू गर्ने बोर्डले निर्णय गरेको छ। राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई १ महिनाको बन्द प्रशिक्षणमा राखिने र प्रदेश स्तरीय खेलकुद एकेडमी ५ वर्षभित्र सञ्चालन ल्याउनुका साथै प्रदेशलाई देशकै खेलकुद हबको रुपमा विकास गर्ने निर्णय भएको बस्नेतले बताए।

प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्नुका साथै विराटनगर, इटहरी, धरान र भद्रपुरलगायतको रंगशालाको आवश्यकता हेरी स्तरोन्नती गर्दै लैजाने छ। प्रदेश बोर्ड यसै वर्ष सप्ताह व्यापी बृहत् खेलकुद महोत्सव गर्नुका साथै प्रदेश स्तरीय बृहत् महिला खेलकुद महोत्सवसमेत गर्ने योजना रहेको सदस्यसचिव बस्नेतले बताए।

प्रकाशित: ८ मंसिर २०७८ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App