नेपाल बक्सिङ संघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ।
बुधबार बिहान नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभसहितको ८ सदस्यीय टोलीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो। भेटघाटको क्रममा टोलीले विश्व र नेपालमा बक्सिङ खेलको अवस्थाबारेमा छलफल गरेको थियो।
यस्तै राष्ट्रपति भण्डारीले नेपालले खेलमार्फत विश्वमा नेपाललाई चिनाउन थालेको भन्दै नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई धन्यवाद दिइन्। भेटमा नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो।
क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनका लागि नेपाल आएको हो। टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र विभिन्न पदाधिकारीले स्वागतगरेका थिए।
सुशील सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुशील थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ४८ केजीको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा जारी प्रतियोगिताअन्तर्गत ४८ केजी स्पर्धाको खेलमा सुशीलले उदयपुरका लक्ष्मण राईलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
सोही स्पर्धाको अन्य भिडन्तमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए।
पुरुष ५१ केजीमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’ का जयन्त मैनाली,रुकुमका जीवनकुमार पुनले अल्फाका प्रशान्त झाक्री मगर तथा एपिएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे।
पुरुष ५४ केजीमा आर्मी ‘बी’ का सुदीप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भिपिबिसीका उपास गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङपेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे।
प्रकाशित: २ मंसिर २०७८ ०४:१० बिहीबार