मुवाङ थोङ (बैंकक)— किरन सुनारले अतिरिक्त समयमा गरेको गोलको मद्दतले नेपालले एएफसी यु-१६ च्याम्पियनसिपमा उज्वेकिस्तानसँग १–१ को बराबरी नतिजा निकालेको छ। बैंकको मुवाङ थोङ रंगशालामा भएको खेलमा किरनले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएका हुन्।
डिबक्स नजिकैबाट उनले आक्रमक प्रहार गर्दा नेपाल पराजित हुनबाट जोगिँदै प्रतियोगितामा एक पोइन्ट आर्जन गर्न सफल रह्यो। बिमल घर्ती मगरबिना मैदानमा उत्रिएको नेपाली टोली उज्वेकिस्तानसँग सुरुदेखि नै दवाबमा परेको थियो।
खेलको ५३ औं मिनेटमा उज्वेकिस्तानका जोनीबेक कुचिमोभले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए। अनन्त तामाङले गरेको फलमा पाएको पेनाल्टीले नेपाल १–० ले पछि पर्दा तामाङले पहेँलो कार्ड पाए।
८१ औं मिनेटमा किरनले नै उज्वेक पोष्टमा आक्रमण गरेका थिए तर गोल हुन सकेन। सुजित गुरुङले ८८ औं मिनेटमा उज्वेक पोष्टमा आक्रमक प्रहार गरेका थिए। उज्वेक किपरले बल समात्न नसकी त्यसलाई पञ्च गरेर जोगाए।
७७ औं मिनेटमा नेपालका किपर रोमन रसाइली उज्वेक स्ट्राइकरसँग ठोकिएर घाइते हुँदा केही बेर खेल रोकिएको थियो।
३५ नेपालको डि एरियामा उज्वेकिस्तानले पाएको फ्रिकिक नेपालका किपर रोमन रैसाइलीले असफल तुल्याइदिएका थिए। मध्यान्तरतिर नेपालले आफ्नो प्रदर्शनमा सुरुवातको भन्दा सुधार गरेको थियो।
हामी खुशी छौं : प्रशिक्षक महर्जन
नेपाली प्रशिक्षक बालगोपाल मर्हजनले नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो भएको बताए। 'अन्त्य सम्म हामी गोल गर्न सक्छौं भन्ने जोस थियो पहिलो खेल बराबरी हुँदा हामी खुसी छौं', उनले भने, 'पहिलो हाफमा खेलाडी नर्भस भए त्यसपछि हामी खेलमा सुधार गदै गयौैं।' सानो गल्तीले गोल खाएको भन्दै उनले भने 'हाम्रा मुख्य खेलाडी बिमलले पहिलो खेल खेल्न नपाएकोले पनि अप्ठयारो भएको हो तर बिपक्षी टिम हामी भन्दा फिजिकल रुपमा बलियो थियो। रेफ्रीले दिएको पेनाल्टीप्रति म सन्तुष्ट छैन। बिमल अर्को खेलमा उपलब्ध हुनेछ। हामी विश्कप खेल्ने लक्ष्य सहित थाइल्यान्ड आएको हो ।'




तस्विर सौजन्यः गिभ मि गोल डटकम
प्रकाशित: २२ भाद्र २०७१ ०७:२३ आइतबार





