२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पलेशा र उनको टोली सम्मानित

यसै वर्ष टोकियो पारालम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनसहित उनको सफलतामा योगदान पुर्‍याउने व्यक्तित्वहरू शुक्रबार नगद पुरस्कारसहित सम्मानित भएका छन्।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) द्वारा खेलाडी पलेशा, प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक दीपक विष्ट, फिजियोथेरापिस्ट नेहा शाह सम्मानित भएका हुन्। आइओएफटिसीले पलेशालाई नगद १ लाख १ हजार, प्रशिक्षक लामा र विष्टलाई समान ५१ हजार रूपैयाँसहित सम्मान गरेको छ। 

टोकियो पारालम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा हुन्। जहाँ उनी कांस्य पदकको भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन्। मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भए पनि उनले रिपाचेजमार्फत कांस्य पदकको अवसर पाएकी थिइन्।

रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराउँदै पलेशा कांस्य पदकनजिक पुगेकी थिइन्, तर सफलता पाइनन्। आइओएफटिसी टिम नेपालको व्यवस्थापनमा पाटन स्कुलमा आयोजित सम्मान कार्यक्रममा लामो समय नेपाली पारा तेक्वान्दोमा स्वयम्सेवक प्रशिक्षकका रूपमा प्रशिक्षण गराएका पूर्वप्रशिक्षक कल्याण कुँवरलाई पनि सम्मान गरिएको थियो।

हाल क्यानाडामा रहेका पूर्वप्रशिक्षक कल्याणले फरक क्षमता भएका कयौं व्यक्तिलाई पारा तेक्वान्दो खेल्ने प्रोत्साहित गरेका थिए। सोही योगदानको कदर गर्दै आइओएफटिसीले कल्याणलाई पनि प्रशंसापत्रबाट सम्मान गरेको थियो। उनी नेपालबाहिर रहेकाले उनका भाइ किरण कुँवरले उक्त प्रशंसापत्र ग्रहण गरेका थिए।

पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण र वर्तमान प्रशिक्षक कविराज नेगी लामाले मात्र नेपालबाट पारा तेक्वान्दोमा अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक कोर्स पूरा गरेका छन्। नेपालमा पारा तेक्वान्दो भित्राउन अथक योगदान पुर्‍याएका जनार्जन ढुंगेल पनि सोही कार्यक्रममा सम्मानित भए। उनीहरू सबैलाई संघीय सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरेका थिए।

सो अवसरमा श्रेष्ठले पारा खेलाडीको स्तर वृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रियता बढाउनु पर्नेमा जोड दिए। पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ मिहिनेत गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: १३ कार्तिक २०७८ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App