१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नामिबिया सुपर १२ मा

आइसीसी ट्वान्टी–२० विश्वकपको सुपर १२ समीरण पूरा भएको छ। शुक्रबार समूह ‘ए’ मा नामिबियाले आयरल्यान्डलाई हराएसँगै आठ टोली सहभागी रहेको प्रारम्भिक चरणबाट सुपर १२ प्रवेश गर्ने चार टोलीको टुङ्गो लागेको हो। 

समूह ‘ए’ बाट श्रीलंका यसअघि नै सुपर १२ मा प्रवेश गरिसकेको छ भने समूह ‘बी’ बाट स्कटल्यान्डले समूहविजेता र बंगलादेशले उपविजेताका रूपमा सुपर १२ मा स्थान बनाएका थिए। समूह ‘ए’ बाट ३ खेलमा ४ अंक जोड्दै नामिबिया सुपर १२ मा प्रवेश गरेको हो। 

नामिबिया पहिलो खेलमा श्रीलंकासँग हारेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नामिबियाले सुपर १२ प्रवेशको सम्भावना जीवित राखेको थियो।

प्रारम्भिक चरणको २ समूहबाट शीर्ष २ टोली गरी कुल ४ टोली सुपरओभरमा प्रवेश गरेका हुन्। ट्वान्टी–२० वरीयताका शीर्ष ८ टोली भारत, पाकिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, न्युजिल्यान्ड र अफगानिस्तान यसअघि नै सुपर १२ मा प्रवेश गरिसकेका छन्। आयरल्यान्डले प्रस्तुत गरेको १ सय २६ रनको लक्ष्य नामिबियाले १८.३ ओभरमा ८ विकेट क्षतिमा पूरा गरेको हो।  

२५ रन जोड्दा ओपनर क्रायग विलियम्सलाई पहिलो विकेटका रूपमा गुमाएको नामिबियाको इनिङ दोस्रो विकेटका लागि जेरार्ड इरासमस र जेन ग्रिनले ४८ रनको साझेदारी गर्दै उकासेका थिए। इरासमसले ४९ बलमा ३ चौका र १ छक्का मद्दतमा अविजित ५३ रनको योगदान गरे। त्यस्तै ग्रिनले ३२ बलमा १ चौका मद्दतमा २४ रन बनाए। 

डेविड विसेले १४ बलमा १ चौका र २ छक्काको मद्दतमा अविजित २८ रन बनाए। इरासमस र विसेले तेस्रो विकेटका लागि अविजित ५३ रनको साझेदारीका साथ नामिबियाका लागि विश्वकपको सुपर १२ को टिकट पक्का गरेका थिए।

आयरल्यान्डका कर्टिस काम्फरले २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङका लागि आएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रनको मध्यमलक्ष्य प्रस्तुत गरेको थियो। 

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङ र केभिन ओ ब्रायनले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रनको साझेदारी गर्दै आयरल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर स्टर्लिङ र केभिन पवेलियन फर्किएपछि आयरल्यान्डले थप ६३ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो।

स्टर्लिङले ३८, केभिनले २५ र कप्तान एन्डी बल्बराइनले २१ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। नामिबियाका जेन फ्रिलिंकले ३ र विसेले २ विकेट लिए।

प्रकाशित: ६ कार्तिक २०७८ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App