आइएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भई १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।
सर्बियाको बेलग्रेडमा सेप्टेम्बर ११ देखि १९ तारिखसम्म भएको गेम्समा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो। व्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गल्र्समा सिमानी लामाले कांस्य जिते।
दुवै मिलेर पेयर पुम्सेमा पनि नेपाललाई कांस्य दिलाए। पौडी टोलीले भने ‘बेस्ट पर्फमर टोली’ को उपाधि जितेको आइएसएफ डेलिगेटका रूपमा सहभागी राजकुमार कार्कीले जनाएका छन्।
कार्कीका अनुसार गेम्समा विभिन्न ३५ राष्ट्रका ५ हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। टोलीलाई खेलाडी, अभिभावकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
प्रकाशित: ५ आश्विन २०७८ ०१:२४ मंगलबार