१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टोटेनह्यामविरुद्ध चेल्सीको प्रभावशाली प्रदर्शन

चेल्सीले आइतबार लन्डन प्रतिद्वन्द्वी टोटेनह्यामलाई ३–० ले स्तब्ध बनाएर यस सिजनको इङ्लिस प्रिमियर लिगमा  रवाफिलो लय जारी राखेको छ। दुवै क्लबले आफ्ना पूर्वस्ट्राइकर जिम्मी ग्रिभेसप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरेका छन्।

पहिलो हाफको सुरुआतमै थियागो सिल्भाको गोलबाट अग्रता लिएको चेल्सीका लागि एनगोलो कान्टेले सन् २०१९ को डिसेम्बरपछि पहिलो गोल गरेका थिए। इन्जुरी समयमा एन्टोनियो रुडिगरको गोलसँगै चेल्सीले छिमेकी प्रतिद्वन्द्वीविरुद्ध प्रभावशाली प्रदर्शन गर्दा थोमस टुचेलको रणनीतिले लाभांश प्राप्त गरेको स्पष्ट देखिन्थ्यो। टुचेलको टोली चेल्सी यस सिजन पाँच खेलमा चार जित र एक बराबरीका साथ अपराजित रहँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा छ। सिजनको सुरुआतमा नै लिभरपुल, टोटेनह्याम र आर्सनलजस्ता बलिया टोलीसँग लगातार प्रतिस्पर्धा गरेको चेल्सीले एक गोल मात्र बेहोरेको छ।

चेल्सीले आगामी हप्ता नै प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा आतिथ्य प्रदान गर्नेछ। त्यो नतिजाले नै चेल्सीको यस सिजनको प्रदर्शन कस्तो रहनेछ भन्ने थप प्रमाण दिनेछ। ‘पहिलो ४५ मिनेटको खेलप्रति म खुसी छैन। 

त्यो समय हामीमा उद्देश्य र ऊर्जाको कमी देखियो,’ टुचेलले भने, ‘प्रिमियर लिगमा टोटेनह्यामजस्तो टोलीविरुद्ध उसैको मैदानमा खेल्दा त्यहाँ एक कुशल खेलले मात्र काम गर्दैन, त्यहाँ आक्रामकता र विजयका लागि इच्छाशक्ति पनि देखाउनुपर्दछ।’ पहिलो हाफको खराब प्रदर्शनपछि टोलीमा धेरै छलफल पनि भएको उनले बताए।

 टोटेनह्यामका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले टोलीमा धेरै समस्या देखिएको स्वीकार गरे। ‘टोलीमा धेरै पक्ष राम्रो हुन सकेन। दोस्रो हाफमा झन् राम्रो भएन। चेल्सीले छिट्टै गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लियो। चेल्सी हामीभन्दा राम्रो पनि रह्यो,’ सान्टोले भने, ‘हामीले धेरै कुरा सुधार गर्नुपर्ने देखिएको छ।’ 

आफ्ना पूर्वस्ट्राइकर ग्रेभेसको ८१ वर्षको उमेरमा भएको निधनप्रति दुवै क्लबले श्रद्धाञ्जलि पनि अर्पण गरेका थिए। ग्रेभेसले सन् १९६१ देखि १९७० सम्म टोटेनह्यामबाट ३ सय ७९ खेल खेल्दा २ सय ६६ गोल गरेका थिए। 

उनले आफ्नो करियर चेल्सीबाट नै सुरुआत गरका थिए, जहाँ उनले सन् १९५७ देखि १९६१ सम्म १ सय ५७ खेलमा १ सय ४४ गोल गरेका थिए। उनले इङ्ल्यान्डका लागि ५७ खेलमा ४४ गोल गरेका थिए। आइतबार राति खेल सुरु हुनुअघि नै लन्डन क्लबको स्टेडियमबाहिर स्क्रिनमा उनीप्रतिको श्रद्धाञ्जलि सार्वजनिक गरिएको थियो।

टोटेनह्यामका स्ट्राइकर ह्यारी केनले ग्रेभेसको सम्मानका लागि टोलीलाई राम्रो खेल्न आग्रह गरेका थिए। तर, इङ्ल्यान्डका कप्तान केन यस सिजनकै पहिलो गोल गर्न असफल भए। चेल्सीले भने ४९औं मिनेटमा सिल्भाको गोलबाट अग्रता लियो।

 एलोन्सोको कर्नर पासमा सिल्भाले आठ यार्ड नजिकबाट हेडर मार्फत गोल गरे। त्यस लगत्तै इरिक डायरले एलोन्सोको प्रहारलाई गोललाइनबाट बचाए। तर, ५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा टिमो वेर्नेरको क्रसमा रुडिगरले गोल थप्दा चेल्सीले ३–० को सहज जित प्राप्त गर्‍यो ।

रियाल शीर्षमा

मड्रिड– दुई मिनेटको अन्तरमा दुई गोल गरेसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

ला लिगाअन्तर्गत आइतबार भएको खेलमा रियालले उत्कृष्ट पुनरागमनमा भ्यालेन्सियालाई २–१ ले हराएको हो। ५६औं मिनेटमा ह्युगो डोरोको गोलमा भ्यालेन्सियाले अग्रता लियो। ८६औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियाल खेलमा फर्किएको थियो।

त्यसको दुई मिनेटपछि नै करिम बेन्जेमाले बललाई जाली चुमाउँदा रियालले स्पष्ट ३ अंकका साथ शीर्षता पक्का गरेको थियो। ५ खेलमा १३ अंक जोडेको रियाल शीर्ष स्थानमा छ भने समान खेलमा ११ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ। समान १० अंकका साथ भ्यालेन्सिया र रियाल सोसिडाड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने ९ अंक बटुलेको एथ्लेटिक बिलबाओ पाँचौं स्थानमा छ।

प्रशिक्षक कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रियालले सबै खाले प्रतियोगिता गरी खेलेका ६ खेलमा ५ जित र १ बराबरीको नतिजा ल्याएको छ। ‘हामीले राम्रो खेलेर भन्दा पनि टिम भावनाका कारण जितेका हौं,’  एन्सेलोट्टीले भने, ‘युवा टोली छ। अझ धेरै सुधारको आवश्यक छ।’ बेन्जेमा र भिनिसियसको लय एन्सेलोट्टीका लागि सुखद पक्ष बनेको छ। बेन्जेमाले सबै खाले प्रतियोगिता गरी यस सिजनमा ६ गोल गरिसकेका छन् भने भिनिसियसले ५ गोल गरिसकेका छन्।

प्रकाशित: ५ आश्विन २०७८ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App