coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राडुकानुको सफलतामा महारानी उत्साहित

इमा राडुकानुको असाधारण युएस ओपन उपाधि सफलताले ब्रिटेनमा खुसीको लहर छाइरहँदा महारानी एलिजाबेथ द्वितीयले पनि न्युयोर्कमा १८ वर्षीयाद्वारा स्थापित टेनिस इतिहासमा उत्साह व्यक्त गरेकी छन्।

क्वालिफायरमार्फत वर्षको अन्तिम ग्रान्ड स्लाम खेलेकी राडुकानुले क्यानाडाकी १९ वर्षीया लेला फर्नान्डेजलाई ६–४,६–३ ले स्तब्ध बनाउँदै सन् १९७७ पछि ग्रान्ड स्लाम जित्ने पहिलो ब्रिटिस महिला खेलाडी बनेकी थिइन्। भर्जिनिया वेडले सन् १९७७ मा विम्बल्डन जितेयता कुनै पनि ब्रिटेनका महिला खेलाडीले सिंगल्सतर्फको ग्रान्ड स्लाम जित्न सकेका छैनन्। साथै राडुकानु क्वालिफाइङमार्फत ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडीसमेत भइन्। ‘तिम्रो सफलताप्रति बधाई दिन चाहन्छु,’ महारानी एलिजाबेथले भनिन्, ‘यति सानै उमेरमा यो अद्भुत सफलता हो। तिम्रो कडा मेहनत र लगावको नतिजा नै यो सफलता हो।’

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोद्वारा दुई गोलमार्फत म्यानचेस्टर युनाइटेडमा सानदार पुनरागमनका बावजुद उनी ब्रिटिस पत्रिकाको पहिलो पृष्ठमा छाइन्। सामाजिक सन्जालमा पनि उनले चौतर्फी तारिफ बटुलेकी छन्। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले पनि ‘कस्तो सनसनीपूर्ण खेल’ भन्दै ट्विट गरेर बधाई पनि दिए। ‘तिमीले अद्भुत क्षमता प्रदर्शन गर्‍यौं। तिमीप्रति हामीलाई गर्व छ,’ बोरिसले भनेका छन्। राडुकानुले यसअघि एउटा मात्र ग्रान्ड स्लाम गत जुलाईमा विम्बल्डल खेलेकी थिइन्। तर, उनी चौथो चरणबाट बाहिरिन्। विम्बल्डनमा पनि राडुकानुको समर्थन गरेका युनाइटेडका फुटबलर मार्कुस रासफोर्डले पनि उनलाई बधाई दिए।

फर्मुला वान विश्व च्याम्पियन लेविस ह्यामिल्टनले पनि बधाई दिँदै उनको प्रगति अविश्वसनीय रहेको प्रतिक्रिया दिए। उनी चाइनिज आमा र रोमानियन पिताबाट क्यानाडामा जन्मिएकी थिइन्। तर, उनी दुई वर्षको हुँदा उनको परिवार दक्षिण लन्डनमा बस्न थालेको थियो। ब्रिटेनका नम्बर एक पूर्वखेलाडी टिम हेनमानले पनि उनले अझै उत्कृष्ट टेनिस खेल्न सक्ने भन्दै सफलताका कथाहरू कोरिने धारणा राखेका छन्। ग्रान्ड स्लाम विजेता अस्ट्रेलियन प्याट क्यासले पनि क्वालिफायरले मुख्य प्रतियोगिता जित्ने विश्वास नै नगरेको बताए। १९ वर्षीया राडुकानुले पनि ग्रान्ड स्लाम जित्ने सपना अहिले यथार्थ विपनामा सम्भव भएको बताइन्।

‘ग्रान्ड स्लाम जित्ने सपना थियो,’ उनले भनिन्, ‘तर आज सपनाअनुरूपकै सम्भव भएको छ र म निकै उत्साहित पनि भएकी छु।’ सन् १९९९ मा सबैभन्दा कम उमेरमा युएस ओपन जितेकी सेरेना विलियम्सको सफलताले पनि उनलाई प्रेरित गरेको थियो। जहाँ, विलियम्स १७ वर्षमै च्याम्पिन बनेकी थिइन्। त्यसपछि कम उमेरमा युएस च्याम्पियन बन्ने उनी पहिलो खेलाडी बनिन्। ‘आज मैले कुनै दबाब महसुस गरिनँ,’ उनले भनिन्, ‘म अहिले १८ वर्षकी मात्र छु। मेरो जीवनमा अझै यादगार समय आउनेछ भन्नेमा विश्वस्त छु।’ यता फर्नान्डेजले डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका, विश्व नम्बर दुई आर्यना साबालेन्का र पाँचौं वरीयताकी इलिना स्भितोलिनालाई स्तब्ध बनाउँदै फाइनलको यात्रा तय गरे पनि इतिहास कोर्न असफल भइन्। 

प्रकाशित: २८ भाद्र २०७८ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App