सर्बियन स्टार नोभाक जोकोभिचले पुनरागमन गर्दै युएस ओपनको पुरुष सिंगल्सतर्फ चौथो चरणमा पुगेको दिन शीर्ष वरीयताकी महिला खेलाडी एस्लेघ बार्टी भने तेस्रो चरणबाटै बाहिरिएकी छन्।
विश्व नम्बर एक जोकोभिचले जापानका केई निसिकोरीमाथि उत्कृष्ट पुनरागमन गर्दै चौथो चरणमा स्थान बनाउँदा बार्टी भने अग्रताका बावजुद अमेरिकाकी सेल्बी रोजर्ससँग स्तब्ध भइन्। जोकोभिचले निसिकोरीमाथि ६–७ (४–७), ६–४, ६–३ र ६–२ को जितका साथ जापानिज स्टारमाथि लगातार १७औं जित निकाले। यी दुईबीचको प्रतिस्पर्धामा जोकोभिच १८–२ ले अगाडि छन्। ‘मैले आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने सकेँ, त्यसैले एकदम खुसी छु,’ जोकोभिचले भने, ‘यद्यपि, एउटा कोणबाट हेर्दा मेरो खेल त्यति राम्रो भने थिएन। तर, मैले ध्यान केन्द्रित गर्न सकेँ र सफलता पाएँ।’
निसिकोरीले भने हारपछि राम्रो सुरुआतलाई सदुपयोग गर्न नसकेको बताए। ‘मैले राम्रो सुरुआत गरेका थिएँ,’ निसिकोरीले भने, ‘त्यसलाई निरन्तरता दिन सकिनँ। पछि परेसँगै त्यो अग्रता भत्काउन असफल हुँदै खेल पनि गुमाएँ। यो सफलतासँगै जोकोभिच एकै क्यालेन्डरमा ५२ वर्षपछि सबै ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने अभियानमा छन्। करियरको चौथो युएस ओपन जित्ने अभियानमा रहेका जोकोभिचले यो सफलता पाए सन् १९६९ मा रोड लाभेरपछि एकै वर्षमा चारै ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बन्नेछन्।
जोकोभिच यो उपाधि जित्दै करियरको २१औं ग्रान्ड स्लामसमेत आफ्नो बनाउने लक्ष्यमा छन्। यो सफलता पाउने सके उनले पुरुषतर्फ सर्वाधिक २०औं ग्रान्ड स्लाम जित्ने राफाइल नाडाल र रोजर फेडेररलाई समेत पछि पार्नेछन्। यी दुवै खेलाडीले चोटका कारण वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन खेलेका छैनन्। पुरुषतर्फ नै टोकियो ओलम्पिक च्याम्पियन एलेक्जान्डर भेरेभले १ सय ८४औं वरीयताका ज्याक सकमाथि ३–६, ६–२, ६–३, २–१ (रिटायर्ट) को सफलता पाउँदै चौथो चरणमा स्थान बनाए। यता, महिलातर्फ भने विम्बल्डन च्याम्पियन बार्टी भने रोजर्ससँग ६–२, १–६ र ७–६ (७–५) ले स्तब्ध भइन्।
‘म छिट्टै खेलबाट बाहिरिन चाहदैनथेँ, त्यसैले पनि हरेक बलमा केन्द्रित भई खेलमा रहने प्रयास गरें,’ रोजर्सले भनिन्, ‘म सधैं खराब नतिजा चाहन्नथें र उनलाई हराउन कडा मेहनत गरेँ।’ उनले बार्टीविरुद्ध पछिल्ला पाँच भेटमा सबैमा पराजय सामना गरेकी थिइन्। यस पटक भने उनले अस्ट्रेलियन प्रतिद्वन्द्वीविरुद्ध सफलता पाइन्। रोजर्सले आगामी चरणमा विश्वको १ सय ५०औं वरीयताकी ब्रिटिस खेलाडी इम्मा राडुकानुविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्।
प्रकाशित: २१ भाद्र २०७८ ०८:५५ सोमबार




