१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चितवन टाइगर्समा सेकुगे र विरनद्वीप

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका विरनद्वीप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

बिहीबार चितवन टाइगर्सले प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंकन खेलाडी सेकुगे र मलेसियाका विरनद्वीपले टोलीबाट खेल्ने जनाएका हुन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा असोज ९ देखि २३ गतेसम्म हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। 

लेग स्पिनर सेकुगेले श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। ट्वान्टी–२० मान्यता प्राप्त सबै गरेर १ सय ७० खेलमा उनले १ सय ३५ विकेट लिँदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन्। उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १ सय ३८ छक्का र १ सय ७ चौका प्रहार गरिसकेका छन्।

उनले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए। उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, इङ्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी–२० ब्लास्ट खेलेका छन्। यस्तै अनुबन्ध भएका अर्का खेलाडी विरनद्वीप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन्। 

उमेरसमूहदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ वर्षीय उनलाई एसोसिएट क्रिकेटको भविष्यका रूपमा हेरिन्छ।उनी हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका छन्। उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। 

नेपाली समर्थकबीच परिचित विरनद्वीपले वैशाखमा भएको तीन देशीय ट्वान्टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। आउँदो सिजनको इपिएलका लागि चितवनमा आबद्ध हुने विरनद्वीप चौथो विदेशी खेलाडी हुन्।  

प्रकाशित: ११ भाद्र २०७८ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App