८ वैशाख २०८१ शनिबार
खेल

एन्फा विवादः छानबिन समितिले बुझायो प्रतिवेदन

सुझावमै प्रशिक्षकको राजीनामा संकेत

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको छ।  

छानबिन समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले बुधबार उक्त कार्यक्रममा प्रतिवेदनको ११ बुँदे निचोड सार्वजनिक हुन्। उक्त प्रतिवेदनले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यक्तिगत आचरणमा सुधार गर्नुपर्ने सुझाव पेस गरेकै दिन प्रशिक्षकले दोस्रो पटक राजीनामा दिने संकेत देखाएका छन्। यसअघि एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग असहमति जनाउँदै प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने बताएका थिए। यस पटक भने विवादकै प्रतिवेदनमाथि असहमति जनाउँदै उनले राष्ट्रिय टोलीबाट बाहिरिने संकेत गरेका छन्। सामाजिक सन्जालमा उनले लेखेका छन् ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क।’  

तथापि, १४ दिन लगाएर छानबिन समितिले बुझाएको ८२ पृष्ठ लामो प्रतिवेदनमा सुझाव मात्र उल्लेख गरिएको छ। तर पनि प्रशिक्षक यस प्रतिवेदनप्रति निकै रुष्ट देखिएका छन्। उक्त प्रतिवदेनमा मूल विवादका बारेमा ठोस कुरा सार्वजनिक गरिएको छैन। समितिले विवाद समाधानका लागि लामो अध्ययन गरेर सुझाव मात्र दिएको छ। प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्बाङबीचको विवादलाई लिएर गठित समितिले ११ बुँदे सुझावमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ दिनभित्र नियम तथा आचरसंहिता निर्माण गरी परिषद्बाट स्वीकृति लिई लागू गर्नुपर्ने उल्लेख गरेको छ।  

समितिले जारी गरेका बुँदामा एन्फा, एसियाली फुटबल महासंघ (एएफसी) र फिफाअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने, प्रशिक्षक अल्मुताइरीले व्यक्तिगत आचरणमा सुधार गर्नुपर्नेलगायतका विषय समेटिएका छन्। साथै समितिले एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि राखेप सदस्यसचिव रमेशकुमार सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताए।  

‘प्रतिवेदन मैले बुझेको छु। केही दिन अध्ययन गर्छु। अध्ययन गरिसकेपछि सम्बन्धित निकायलाई कार्यान्वयन गर्न निर्देशन दिन्छु। निर्देशन अक्षरस पालना गर्नुपर्छ,’ सिलवालले भने, ‘नियमनकारी निकाय राखेप हो। विवाद मिलाइदिन भन्दै एन्फाले आग्रह गरेको हो। मुद्दाको विषयमा हामीलाई पनि पत्र नै लेखिएको छ। हामीले समाधानका लागि सबै पक्षसँग बसेर छलफल पनि गरेका छौं।’ प्रतिवेदन बाहिर आउनुपूर्व सदस्यसचिव सिलवालले विवाद समाधान गर्न दुवै पक्षसँगै बसेर समाधान गर्न पहल गरे पनि सफल नभएको थपे। छुट्टाछुट्टै पहल हुँदा पनि सफल नभएको सिलवालले बताए।  

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो। उपाध्यक्ष नेम्बाङले व्यक्तिगत चरित्रमा आँच आउने किसिमको काम भएको भन्दै एन्फामा छानबिन गर्न माग गरेका थिए। सोही विवाद सतहमा आएपछि एन्फाको आकस्मिक कार्यसमिति बैठकले छानबिन गर्न तेस्रो पक्षलाई दिने निर्णय गरेको थियो। सोही निर्णय, एन्फामा पदाधिकारीबीच आरोपप्रत्यारोप बढ्दै गएको र समाधान गर्ने काम नभएको कारण देखाउँदै प्रवक्ता किरण राईले राजीनामा दिएका थिए।  

तेस्रो पक्षलाई विवाद समाधानका लागि जिम्मा दिएपछि सोहीअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्लाई छानबिन समिति गठन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो। 

प्रकाशित: १० भाद्र २०७८ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App