१२औं विश्वकपमा पनि जुन महादेशले विश्वकप आयोजना गरेको छ, त्यही महादेशको राष्ट्र विजयी हुने परम्परा कायमै रह्यो। यो विश्वकपमा युरोपका दुई राष्ट्र इटाली र पश्चिम जर्मनी फाइनल पुगेका थिए। त्यसमा इटाली ३–१ ले विजयी हुँदै तेस्रोपल्ट विश्वकप जित्न सफल भयो।
यही विश्वकपमा पहिलोपल्ट २४ राष्ट्रले सहभागिता जनाए। यी सहभागीलाई ६ समूहमा विभाजन गर्दै समूह विजेता र उपविजेता टोलीले दोस्रो चरणमा प्रवेश पाएका थिए। दोस्रो चरणमा पनि ३–३ टोलीलाई ४ समूहमा विभाजन गरी खेलाइएको थियो। समूह विजेता चार टोली सिधै सेमिफाइनल पुगेका थिए। इटाली, पश्चिम जर्मनी, पोल्यान्ड र फ्रान्स सेमिफाइनल पुगे। सेमिफाइनलमा इटालीले पोल्यान्डलाई २–० ले पराजित गर्योथ। जर्मनीले पेनाल्टी सुटआउटमा फ्रान्समाथि ५–४ को विजय पाएको थियो। यी दुवैको निर्धारित समयको खेल १–१ मा रोकिएको थियो। अतिरिक्त समयमा दुवै टोली ३–३ गोलमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय निस्कियो।
पहिलो लिग चरणको खेल त्यति पारदर्शी बन्न सकेन। त्यसको फाइदा अस्ट्रियाले जर्मनीबाट उठायो। दुवै टोलीले समूह २ को अन्तिम लिग खेल मिलेमतोमा खेलेपछि दोस्रो चरण प्रवेश नजिक रहेको अल्जेरिया प्रतियोगिताबाटै बाहिरियो। अस्ट्रिया १ गोलमात्र खाए दोस्रो चरणमा प्रवेश पाउने अवस्था थियो। जर्मनीले पहिलो हाफको १० मिनेटमै गोल गर्यो । त्यसपछि दुवै टोली मिलेर खेलेका थिए। अल्जेरियाली समर्थक यो घटनाबाट चकित परे। तर, जर्मन समर्थकले आफ्नो टोलीको चर्तिकला देखेपछि रंगशालाभित्रै जर्मनीको राष्ट्रिय झन्डा जलाए।
फ्रान्सविरुद्धको समूह चरणमा तत्कालीन सोभियत संघका रेफ्री मिरोस्लाभ स्टुपरले दिएको विवादास्पद निर्णयका कारण एसियाबाट छनोट कुवेतको मैदान छोडेर जाने अवस्था बनेको थियो। खेल भइरहँदा रेफ्रीको सिटीको आवाज सुनेर कुवेतका रक्षकले बीचैमा खेल रोक्दा फ्रान्सले गोल गर्न पुगेको थियो।
यो घटनाको विरोध गर्दै कुवेत फुटबल संघका तत्कालीन अध्यक्ष राजकुमार फारिद रंगशालाको भिआइपी लन्जबाटै उत्रेर विरोध जनाएका थिए। ८ मिनेट लामो विवादपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेका थिए। यो खेल फ्रान्सले ४–१ ले जितेको थियो।
यस विश्वकपमा पुनः इटालीका रोसी हिरो भए। इटालीमा खेल मिलेमतोको आरोपमा २ वर्ष प्रतिबन्ध झेलेका रोसी अन्तिम समय टोलीमा समावेश भएका थिए। आफ्नो उपस्थिति सार्थक तुल्याउने क्रममा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए। ‘लिटिल लिपिङ जायन्ट' को नामले चिनिने रोसीले यो विश्वकपमा कुल ६ गोल गरे, जसमा ब्राजिलविरुद्धको ह्याटि्रक यादगार रह्यो। रोसीले सेमिफाइनलमा पोल्यान्डविरुद्ध २ गोल र फाइनलमा जर्मनीविरुद्ध १ गोल गरेका थिए। इटालीका लागि ४० वर्षे गोलरक्षक डिनो जोफ र १८ वर्षे फुलब्याक गुइसेप बेर्गोमीको प्रदर्शन पनि सम्झनलायक रह्यो। बेर्गोमी सबैभन्दा युवा खेलाडीको रूपमा इटालियन टोलीमा थिए। उत्तरी आइरल्यान्डका नोर्मन वाइटसाइड ब्राजिलका हस्ती पेलेको कम उमेरमा विश्वकप खेल्ने कीर्तिमान तोड्नेक्रममा १७ वर्ष ४१ दिनमा यही विश्वकपमा समावेश भएका हुन्।
प्रकाशित: ८ जेष्ठ २०७१ २३:१२ बिहीबार





