१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

ग्वार्डिओलाको आलोचकलाई चेतावनी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।

१३ महिनाअघि मात्र कोर्ट अफ आर्बिटेसन फर स्पोटर््सले सिटीमाथि युरोपियन प्रतियोगिताहरू खेल्नमा लागेको दुई वर्षको प्रतिबन्ध उल्ट्याइदिएको थियो। त्यसअघि भने युइएफएले प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भन्दै सिटीमाथि सबैखाले युरोपियन प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको हो। सिटीले हालै मात्र कीर्तिमानी १ सय मिलियन पाउन्डमा इङ्ल्यान्डका मिडफिल्डर ज्याक ग्रेलिसलाई अनुबन्धित गरेको थियो। ग्रेलिसमाथि सिटीले चर्को मूल्य खर्चिएपछि ग्वार्डिओलाको टोली आलोचित पनि बन्यो।

ग्वार्डिओलाले पछिल्ला एक वर्षमा क्लबले ६० मिलियन पाउन्ड आम्दानी गरेकाले खेलाडीहरूमाथि समेत चर्को मूल्य खर्चिएकाले त्यसलाई अन्यथा नलिन आग्रह गरे। ग्रेलिसमाथि चर्काे मूल्य खर्चिंदै सिटीले टोटेनह्यामका कप्तान ह्यारी केनलाई समेत आकर्षित पार्न खोजेको अनुमान गरिएको छ। शनिबार मात्र लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो क्लबमा सीमित बजेट भएकाले सिटीसँग तुलना नगर्न आग्रह गरेका थिए। क्लोपले सिटीको खर्चको सीमा नभएको भन्दै आलोचनासमेत गरे। ग्वार्डिओलाले भने क्लोपको सो प्रतिक्रियामा कुनै सत्यता नभएको दाबी गरेका छन्।

‘हामी सबै इङ्लिस प्रिमियर लिगको आर्थिक नियममा बाँधिएका छौं,’ ग्वार्डिओलाले भने,‘हामीले पनि अन्यले प्रस्तुत गर्नेजस्तै कागजात प्रस्तुत गरेका हौं। यो नियम सबैका लागि बाध्यकारी हो। यसमा सिटी मात्र बाहिर गयो भन्नु न्यायोचित होइन। हामी गलत छौं भने त्यसलाई प्रमाणित गरेर देखाइयोस्।’ ग्वार्डिओलाले आफ्नो क्लबका मालिक उपाधि लक्ष्य सार्थक बनाउन अपनाएको रणनीति सफल पार्न खर्च गर्न तयार रहे पनि अन्य क्लबका मालिक खर्च गर्न तयार नहुँदा अन्य क्लबले आफूहरूमाथि रिस पोखेको समेत दाबी गरे।

‘मैले पहिले पनि भन्दै आएको छु, क्लब मालिकले आफ्नो पनि फाइदा हेरेर लगानी गर्छन्,’ ग्वार्डिओलाले भने, ‘हाम्रा मालिक गरेको लगानी खेर नजाओस् भन्ने पक्षमा छन्। साथै उनीहरू क्लबको नयाँनयाँ योजनाका लागि खर्च गर्न सधैँ तयार छन्। सबै क्लबले आफ्नो उपाधि सपना साकार पार्न खर्च गर्ने हो। कुनै क्लबले खर्च गर्‍यो भन्दा अरू क्लबले विरोध गर्नुको औचित्य के? विगतमा म्यानचेस्टर युनाइटेडले पनि खेलाडी अनुबन्धनमा उल्लेख्य खर्च गरेकै हो र नतिजा पनि त्यहीअनुरूपको ल्याएको थियो। त्यस बेला सिटीसँग स्रोत नै थिएन र खेलाडी अनुबन्धनमा भनेजस्तो खर्च गर्न सकेन।’  

प्रकाशित: ३२ श्रावण २०७८ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App