४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

‘गत सिजनका शीर्ष चार टोली नै उपाधि दाबेदार’

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार क्लबहरू थप भए पनि आफ्नो क्लब उपाधि जित्न सक्षम रहेको बताएका छन्। लिभरपुलले यस सिजनका लागि खेलाडी अनुबन्धनमा खासै चासो देखाएको छैन। बुन्डेसलिगा क्लब आरबी लिपजिकमा लोनमा गएका फ्रान्सको यु–२१ टोलीका रक्षक इब्राहिमा कोनाटेलाई लिभरपुलले मेमा क्लब फर्काइसकेको छ। 

गोलकिपर एलिसन ब्रेकरका साथै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र फाबिन्होले यस अघि नै क्लबसँगको सम्झौता नवीकरण गरिसकेका छन्। रक्षक भर्जिल भान डायकले भने शुक्रबार मात्र लिभरपुलसँगको सम्झौता नवीकरण गरेका थिए। क्लोपले आफूहरू सधैं उपाधिको दाबेदार रहेको जोड दिएका छन्। लिभरपुलले सन् २०२० मा तीन दशकपछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

‘गत सिजन प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीसँग हाम्रो दूरी १७ अंकको थियो, जुन धेरै अन्तर हो,’नवप्रवेशी नर्विच सिटीसँग शनिबारको खेलअघि क्लोपले भने, ‘त्यस अघिको सिजन पनि हामीले सिटीलाई १८ अंकले पछि पार्दै उपाधि पक्का गरेका थियौं। आशा छ यो सिजन शीर्ष टोलीबीच धेरै अंक दूरी हुने छैन र प्रतिस्पर्धात्मक रहनेछ।’ साथै उनले सबै टोलीको लक्ष्य उपाधि जित्ने नै हुने गरेको पनि उल्लेख गरे। ‘सबै टोलीको लक्ष्य उपाधि नै हो। अन्य शीर्ष टोलीजस्तो हाम्रा पनि लक्ष्य प्रिमियर लिग च्याम्पियन नै हो,’उनले भने, ‘हामी त्यसका लागि गर्नुपर्ने कुनै कसर बाँकी राख्दैनाैँ।’ क्लोपले गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न नसकिने बताए।

‘मैले गत सिजनकै शीर्ष चार टोलीलाई उपाधि दाबेदारको रूपमा लिएको छु। तर अन्य टोलीको उपाधि सम्भावना नकार्न भने सकिँदैन,’क्लोपले भने, ‘लेस्टर सिटी, आर्सनल र टोटेनह्यामको प्रदर्शनले पनि यस सिजन शीर्ष चारमा फरक पार्न सक्छ। त्यस्तै वेस्ट ह्यामले पनि गत सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो। यो सिजनको प्रिमियर लिग थप रोमाञ्चक हुनेछ।’ गत सिजन आफ्नो टोलीले शीर्ष चारमा बस्दै च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि निकै संघर्ष गर्नुपरे पनि यस सिजन भने त्यस्तो कठिनाइ नहुने उनको विश्वास छ।  

‘हामीले गत सिजन शीर्ष चारमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गर्न निकै संघर्ष गर्नुपर्‍यो,’क्लोपले भने, ‘अन्तिम केही खेलको नतिजाले मात्र च्याम्पियन्स लिगको टिकटको सम्भावना हाम्रो हातमा फर्काइदिएको थियो। टोलीमा भएका अनेकौं समस्याका बाबजुद गत सिजन अन्ततः तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्न सफल भयौं। सिजनको अन्त्यबाट समाएको जितको लय यस सिजन सुरुबाटै समात्नेमा हामी आशावादी छौं।’ क्लोपले प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले इङ्ल्यान्डका मिडफिल्डर ज्याक ग्रेलिसको अनुबन्धनमा १ सय मिलियन पाउन्ड खर्चिंदा अचम्भित नभएको उल्लेख गरे। तथापि, युनाइटेडले जाडोन सान्चेज र राफेल भारेनको अनुबन्धनमा खर्चिएको रकमबारे भने उनले आश्चर्य व्यक्त गरेका छन्।

प्रकाशित: ३० श्रावण २०७८ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App