१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो ओलम्पिक आयोजक जापानमा कोरोना भाइरस संक्रमण दरले बिहीबार पनि कीर्तिमान बनाउँदा त्यहाँको सरकारले ओलम्पिक सकिन केही दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य सुरक्षा झनै कडा बनाएको छ।  

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो। ओलम्पिक सकिन केही दिन मात्र बाँकी रहेको अवस्थामा सरकारले नयाँ निर्णय गर्दा कोरोनासम्बन्धी स्वास्थ्य क्षेत्रले विशेष प्राथमिकता पाएको हो। नयाँ भाइरस डेल्टा भेरियन्ट देखिएको भन्दै सरकारले कडा कदम चालेको बताइएको छ।  

बिहीबार मात्र ५ हजार ४२ जनामा संक्रमणका केस रहेको तथ्याङ्कले देखाएको छ। यसअघि अघिल्लो साता ३ हजार ८ सय ६५ केस देखिएका थिए भने त्योभन्दा अघिल्लो साता मात्र १ हजार ९ सय ७९ केस देखिएका थिए। दैनिक रूपमा बढेको संक्रमण दरले आयोजकलाई नियन्त्रणमा राख्न हम्मेहम्मे भएको अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रमा कडा सुरक्षाको कदम चालेको हो। यस्तै देशै भर पनि नयाँ संक्रमण दरको कीर्तिमान दैनिक रूपमा बढिरहेको छ। बुधबार मात्र देशैभर १४ हजार संक्रमित थपिएका थिए। जसका कारण त्यहाँको सरकारलाई टाउनको दुखाइ भएको छ।

‘संक्रमण दर सोचेभन्दा तीव्र गतिमा फैलिरहेको छ। जुन हामीले विश्वास पनि लिएका छैनौं,’ जापानका प्रधानमन्त्री योसिहिदे सुगाले चिन्ता व्यक्त गर्दै बिहीबार नियन्त्रणका लागि ‘टास्कफोर्स’ गठन गरेको बताए। प्रधानमन्त्री सुगाले तीव्र गतिमा फैलिएको संक्रमण दरको पारोसँगै विरामीहरूको अवस्था जटिल हुँदै गएको पनि थपे। यसअघि जापानमा कोरोना भाइरसको संक्रमण संख्या न्यून थियो। कोरोना भाइरसको सन्त्रासका कारण ओलम्पिक आयोजना नगर्न दबाब दिएका सर्वसाधारणको अपिललाई सरकारले प्रतिष्ठा भन्दै आयोजना गरेको थियो। ओलम्पिक आयोजना गरेर हो वा संयोग अहिले जापानमा कोरोना भाइरसका विरामीको संख्या ह्वात्तै बढेको छ। अहिलेसम्म १५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। यद्यपि त्यहाँको सरकारले ओलम्पिक आयोजनास्थलबाहेक अन्य स्थानमा पनि कडा लकडाउन गर्न सकेको छैन। केही स्थानमा मात्र लकडाउन गरेको छ। अहिलेसम्म जापानमा एक तिहाइ जनसंख्याले मात्र कोरोना भाइरसको खोप लगाएका छन्।

पछिल्लो समय संक्रमण दर बढेसँगै त्यहाँको सरकारले अन्य क्षेत्रमा कोरोना संकटकाल घोषणा गरेको छ। जहाँ सर्वसाधारणको बाक्लो उपस्थिति हुने स्थल होटल, रेस्टुरेन्ट, बारजस्ता स्थान ८ बजेपछि बन्द गर्न भनिएको छ। यस्तै मादक पदार्थजन्य वस्तुको बिक्रीवितरणमा कडाइ गरिएको छ। बिहीबार मात्र अन्य ८ स्थानमा संकटकाल लगाइएको छ।

टोकियो ओलम्पिक अन्तिम अन्तिम अवस्थामा आइपुग्दा आयोजकले उपस्थित भएका एथलेटमध्ये ३ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। यो तथ्याङ्क जुलाई १ बाट लिइएको हो। यतिका संख्यामा संक्रमण देखिए पनि कुनै पनि एथलेट गम्भीर किसिमको बिरामी नभएको आयोजकले दाबी गरेको छ। 

प्रकाशित: २२ श्रावण २०७८ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App