८ वैशाख २०८१ शनिबार
खेल

कल्पनाको राष्ट्रिय कीर्तिमान

सुटिङ रेन्जमा निसाना लगाउँदै नेपालकी कल्पना परियार (बीच)। तस्बिर: एनएसजेएफ

सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रारम्भिक चरण नै पार गर्न नसके पनि राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भयो। आसाका सुटिङ रेन्जमा भएको खेलको छनोट चरणमा कल्पनाले ६१६.८ स्कोर जोड्दा उनी फाइनल चरणमा स्थान बनाउन असफल भइन्। छनोट चरणबाट आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए।  

अन्तिम चरणमा स्थान बनाउन नसके पनि ओलम्पिकमा कल्पनाको प्रदर्शन राष्ट्रिय कीर्तिमानका लागि पर्याप्त बन्यो। कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको ६१४.५ स्कोरको कीर्तिमान सुधार गरेकी हुन्। महिला १० मिटर एयर राइफलमा कुल ५० खेलाडीले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् र उनीभन्दा पछाडि बोस्निया एन्ड हर्जगोभिना, किर्गिस्तान, श्रीलंका र रेफ्युजीको टोली रह्यो। पहिलो सिरिजमा १०२.२ स्कोर गरेकी कल्पनाले दोस्रोमा १०५.४ को सुधार गरेकी थिइन्।  

तेस्रोमा भने उनको प्रदर्शन खस्किँदा १०१ स्कोर गरिन्। चौथोमा १०४.१ को सुधारात्मक प्रदर्शन गरेकी कल्पनाले पाँचौंमा भने १०३.४ स्कोर गरिन्। अन्तिम सिरिजमा भने उनको प्रदर्शन कमजोर रह्यो र १००.७ स्कोर मात्र बटुलिन्। भारतले पदक आशा गरेकी इलाभेनिल भालरभियन ६२६.५ स्कोरसहित १६औं स्थानमै खुम्चिन पुगिन्। उक्त विधामा चीनकी याङ कियानले स्वर्ण जितिन्। त्यो स्वर्ण पदक जारी टोकियो ओलम्पिककै पहिलो स्वर्ण छिनोफानो थियो। रसियन ओलम्पिक टोलीकी एनास्टासिया गालासिना रजत पदकमा सीमित भइन्। स्विट्जरल्यान्डकी नाना क्रिस्टनले कांस्य पदक प्राप्त गरिन्।

प्रकाशित: १० श्रावण २०७८ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App