१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कोरोना परीक्षण नतिजा विवादमा

टोकियो ओलम्पिक २०२० सुरु हुन केही दिन मात्र बाँकी छ। सहभागी अन्य राष्ट्र कसरी पदक भित्र्याउने भन्ने लक्ष्यमा केन्द्रित छन्। तर नेपाल ओलम्पिक कमिटी (एनओसी) भने एकपछि अर्को विवादका शृंखलामा मुछिँदै आएको छ।  

करिब दुई साताअघि  म्याराथनमा नेपालको प्रतिनिधित्व गर्न लागेका गोपीचन्द्र पार्कीलाई प्राविधिक कारणले ओलम्पिक सहभागिताबाट वञ्चित गरेसँगै एनओसी विवादमा तानिएको थियो। एनओसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले विज्ञप्ति जारी गर्दै विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला सय मिटरमा कोटा छुट्ट्याएको र त्यसका लागि सरस्वती चौधरीको नाम सिफारिस गरिएको उल्लेख गरे। छनोटका बावजुद पनि ओलम्पिक सपनाबाट टाढिएका गोपीले बारम्बार अपिल गर्दा समेत सरोकारवाला निकाय मौन बसे।  

गोपीचन्द्रको सहभागिता रद्द भएपछि विवादमा मुछिएको एनओसी महिला सय मिटरमा अवसर पाएकी सरस्वती चौधरीलाई प्रशिक्षण दिइरहेकी प्रशिक्षक इन्द्राकुमारी मल्लको कोभिड १९ पिसिआर रिपोर्टका कारण पुनः विवादमा तानिएको छ। 

एनओसीले आइतबार एक विज्ञप्ति जारी गर्दै जापान प्रस्थान गर्नुअघि गरिएको परीक्षणमा प्रशिक्षक इन्द्राकुमारीलाई कोरोना पोजेटिभ देखिएकाले ओलम्पिकको कोभिडसम्बन्धी नियमअनुसार उनी जान नपाउने र उनको स्थानमा अर्का प्रशिक्षक सन्तोष श्रेष्ठलाई नै प्रशिक्षकको जिम्मा सुम्पिने विज्ञप्ति जारी गरेको थियो।  

‘मैले शनिबार सरस्वती चोैधरीसँगै एनओसी भवनमा पिसिआर परीक्षणका लागि स्वाब दिएकी थिएँ,’ इन्द्राले भनिन्, ‘राति करिब १० बजे मलाई मेरा खेलाडीमार्फत तिम्रो प्रशिक्षकको पिसिआर नतिजा पोजेटिभ आयो भनियो। मैले कोभिड १९ विरुद्ध दुवै भ्याक्सिन लगाइसकेकी थिएँ र मलाई कोभिड १९ को कुनै लक्षण पनि थिएन। 

मलाई लाग्यो मेरो नतिजामा केही गडबडी भयो होला। त्यसैले आइतबार पुनः स्टार अस्पताल पुगेर पिसिआर परीक्षणका लागि स्वाब दिएँ। मलाई लागेको थियो, एनओसीले दोस्रो पिसिआरको नतिजा हेर्छ भन्ने तर मेरो दोस्रो पटक गरिएको पिसिआरको नतिजाअघि नै मेरो स्थानमा सन्तोष श्रेष्ठलाई टोकियो पठाउन लागिएका खबर सञ्चारमाध्यमबाट थाहा पाएँ।’  

एथलेटिक्स टोली २५ जुलाईमा टोकियो जाने तालिका थियो। ओलम्पिकमा सहभागी हुन टोकियो जाने खेलाडी, प्रशिक्षक र अन्य पदाधिकारीले लगातार एक साता पिसिआर गराउनुपर्ने नियम थियो। टोकियो ओलम्पिकमा सहभागी हुने सबै सदस्यको स्टार अस्पतालले नियमित पिसिआर गर्दै आएको छ। 

 ‘मलाई आइतबार राष्ट्रिय टोली तयारी समितिका निर्देशक महेन्द्र राईले पिसिआर नतिजा पोजेटिभ आएकाले आइसोलेसनमा बस्नू भनी पत्र थमाएका थिए,’ इन्द्राले भनिन्, ‘तर अन्यायमा परेको जस्तो लागेर मैले स्टार अस्पतालका साथै कान्तिपुर अस्पताल र ह्याम्समा पनि पिसिआर परीक्षणका लागि स्वाब दिएँ। सबैको नतिजा नेगेटिभ छ।’  

इन्द्राको शनिबार गरिएको परीक्षणको रिपोर्टमा वर्ष ५३ र लिङ्गमा पुरुष उल्लेख छ। आइतबारको परीक्षणमा वर्ष ५४ र महिला उल्लेख हुँदा परीक्षणमाथि नै शंका उत्पन्न भएको छ।

यसबारे सबै सरोकारवाला निकायलाई जानकारी गराएको बताउँदै इन्द्राले भनिन्, ‘कहीं कतैबाट पनि सकारात्मक प्रतिक्रिया पाइनँ। मेरो गुनासो यत्ति मात्र छ कि मैले दोस्रो दिन गरिने पिसिआरको रिपोर्टपछि मात्र मेरो टोकियो ओलम्पिक यात्राको बारेमा निर्णय लिइदिनुहुन एनओसीलाई आग्रह गरेको थिएँ। तर यसलाई कसैले पनि गम्भीरताका साथ लिएनन्। ममाथि अन्याय भयो। 

खेलाडीको रूपमा ओलम्पिकमा जान नपाए पनि प्रशिक्षकका रूपमा भए पनि मेरो ओलम्पिक सहभागिता पूरा हुने संघारमा थियो । मलाई टोकियो ओलम्पिकमा जाने भत्तासमेत दिइएको थियो तर अन्तिममा आएर ममाथि अन्याय भयो।’

प्रकाशित: ५ श्रावण २०७८ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App