७ वैशाख २०८१ शुक्रबार
खेल

'चिहानघारी' मा खेल्ला त नर्वे ?

नर्वेका स्ट्राइकर इर्लिङ हल्यान्ड घरमै बस्छन् वा समर्थकले चिहानको संज्ञा दिएको स्थानमा खेल्न जान्छन् ? आइतबार बस्ने नर्वे फुटबल कम्युनिटीको बैठकले अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने अथवा बहिष्कार गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ।

अभियन्ताहरूको दबाबमा परेको नर्वे फुटबल संघ (एनएफएफ) ले पनि यसबारे निर्णय गर्न आकस्मिक बैठकको आह्वान गरिसकेको छ। नर्वे स्पोर्ट्स एलायन्स (एनएसए) का प्रवक्ता ओले क्रिस्टियन सान्भिचले कतारको मैदानमा उत्रनु चिहानमा उत्रनु सरह भएको बताए। सन् २००० को युरो कपपछि नर्वे अहिलेसम्म कुनै पनि मुख्य प्रतियोगिताहरूमा छनोट हुन सकेको छैन। कतार विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटमा समेत नर्वे आफ्नो समूहको चौथो स्थानमा छ। छनोट नै कठिन बनेको अवस्थामा नर्वेले छनोटचरणका खेलहरूलाई निरन्तरता दिन्छ वा दिँदैन भन्ने चासोको विषय बनेको छ।  

नर्वेको बहिष्कार निर्णयले विश्व फुटबलका उदीयमान स्ट्राइकर हल्यान्डको खेलजीवनमा समेत विशेष अर्थ राख्नेछ। फेब्रुअरीयता नर्वेमा कतारले मानवअधिकार उल्लंघन गरेकाले प्रतियोगिताको छनोट खेल्नु नै गल्ती भएको अवाज उठेको थियो। ‘हामी फुटबलको नाममा धमाधम मान्छे मरेको हेरेर चुप बस्दैनाैं,’ नर्वेको ‘ए’ डिभिजन क्लब ट्रोम्सो आइएले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कतारले विश्वकप आयोजनाको अधिकार पाउँदै रंगशाला निर्माण कार्य थालनी गरेदेखि नै मानवअधिकार उल्लंघन भएको र श्रम शोषण गरिएको भन्दै प्रतियोगितास्थल नै परिवर्तन गर्नुपर्ने आवाज पनि नउठेको होइन।

कतार सरकारले भने कामदारको हकहितका लागि आफूहरूले दिएजस्तो सुविधा अन्त कतै नभएको दाबी गर्दै मानवअधिकार उल्लंघनको आरोप झूट भएको बताउँदै आएका छन्। ‘कतारलाई विश्वकप फुटबल आयोजनाको अधिकार दिनु नै गलत हो,’ ट्रोम्सो आइएलका सूचना अधिकारी टम होग्लीले भने, ‘त्यहाँ अवस्था नाजुक छ र धेरै श्रमिकले ज्यान गुमाइसकेका छन्।’ हालैका दिनमा प्रकाशित सर्वेक्षणअनुसार ४९ प्रतिशत नर्वेका नागरिक कतार विश्वकप छनोट नै बहिष्कार गर्नुपर्ने पक्षमा देखिएका छन्।

हल्यान्डसहित कप्तान मार्टिन ओडेगार्डका साथै अधिकांश नर्वेका खेलाडीले मानवअधिकार मैदानबाहिर र भित्र भन्ने नारा अंकित टिसर्ट लगाएपछि उनीहरू विवादमा तानिएका थिए। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने कतारलाई विश्वकप आयोजना अधिकार दिने निर्णयले समाज विकासको ढोका खोलेकाले विरोधकै लागि विरोध गर्नुको अर्थ नभएको बताए। ‘हामीलाई थाहा छ त्यहाँ, अझै निर्माण कार्य जारी छ तर हामीले त्यहाँ छोटो समयमा निर्णण भएका संरचनाको पहिचान गर्न आवश्यक छ,’ इन्फान्टिनोले मेमा भनेका थिए।  

मार्चमा सम्पन्न फिफा कंग्रेसमा एनएफएफका प्रमुख ट्रेज सेभेन्डसेनले कतारलाई विश्वकप आयोजनाको अधिकार दिने निर्णयप्रति पश्चात्ताप गर्दै प्रतियोगिता बहिष्कार गर्नुपर्ने बताएका थिए।

प्रकाशित: ७ असार २०७८ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App