१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भन्दै प्रचण्डले हरेक हप्ता खबर पठाउँछन्: गगन

.

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको खुलासा गरेका छन्।

बिहीबार कीर्तिपुर उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म स्थिर रूपमा अघि बढाउन चाहिरहेको र सरकारलाई तलमाथि गर्ने सोच नरहेको बताएका हुन्।

थापाले भने, ‘हाम्रो दुश्मन कोही छैन। न प्रचण्ड दुश्मन हो, न केपी ओली। हामी इमान्दारिताका साथ यो सरकारलाई तीन वर्षसम्म टिकाउनेछौँ। किनभने, देशलाई स्थिरता र परिणाम चाहिएको छ, न कि चलखेल।’

महामन्त्री थापाले संसदमा अहिले पनि कांग्रेसकै बहुमत रहेको तर स्थिर सरकार दिनको लागि माओवादी केन्द्र र एमालेसँग सहकार्य गरिएको बताए। उनले भने, ‘हप्तामा एक पटक प्रचण्डले खबर पठाउनुहुन्छ– “लौ न, कांग्रेसले प्रधानमन्त्री बनिदिनुपर्‍यो।” यो खबर पहिले अरुले पठाउने गर्थे, अहिले उहाँले पठाउनुहुन्छ।’

उनले सरकार बदल्ने र अस्थिरता सिर्जना गर्ने हैसियत कांग्रेससँग भए पनि त्यसो नगरी देशको स्थायित्वका लागि सरकारलाई सघाएको बताए। उनले थपे, ‘प्रधानमन्त्री बन्न नसकेर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मान्ने होइन, यो देशलाई स्थिरता दिन महत्वपूर्ण हो।’

थापाले गरिबी र बेरोजगारीको समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले नेपाली कांग्रेसको उद्देश्य देशको स्थिरता र समृद्धि रहेको पुनः स्पष्ट पारे।

प्रकाशित: १३ मंसिर २०८१ १९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App