१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रोएसियाको पहिलो जित चाख्ने चाहना

युरो कप २०२० अन्तर्गत शुक्रबार समूह ‘डी’ का दुई र समूह ‘ई’ का एक गरी कुल ३ खेल हुँदै छन्। समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाउन चाहन्छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ।

स्विडेनविरुद्ध स्लोभाकिया  

स्विडेन र स्लोभाकिया शुक्रबार आमनेसामने हुँदा पहिलो खेलमा गरेको बहादुरीपूर्ण प्रदर्शनको निरन्तरता दिने लक्ष्यमा हुनेछन्। पहिलो खेलमा पोल्यान्डलाई हराएको स्लोभाकिया स्विडेनविरुद्ध पनि स्पष्ट ३ अंक जोड्दै युरो कप २०२० अन्तर्गत नकआउट चरणको टिकट काट्न चाहन्छ। तर युरो कपको विगतको इतिहास हेर्ने हो भने स्लोभाकियाले प्रतियोगितामा लगातार दुई जित हात पार्न सकेको छैन। स्विडेनविरुद्ध स्लोभाकिया सो इतिहास बदल्न चाहन्छ।

यता स्विडेनले पहिलो खेलमा प्रतियोगिताकै दाबेदार टोली स्पेनलाई गोलरहित बराबरीमा रोक्दै मनोबल उच्च बनाएको थियो। त्यसैले स्विडेन स्लोभाकियाविरुद्ध मैदान उत्रँदा ३ अंकका साथ अन्तिम १६ प्रवेश सम्भावना कायम राख्न चाहन्छ। समूह ‘ई’ मा स्लोभाकिया ३ अंकका साथ शीर्ष स्थानमा छ भने स्पेन र स्विडेन समान १ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। पोल्यान्डले अंक खाता खोल्न सकेको छैन। त्यसैले स्लोभाकियाविरुद्ध हार वा बराबरीले स्विडेनको नकआउटमा प्रवेश गर्ने सम्भावना कमजोर बन्न सक्छ।

क्रोएसियाविरुद्ध चेक रिपब्लिक  

क्रोएसियालाई युरो कप २०२० को दाबेदार टोलीका रूपमा हेरिए पनि पहिलो खेलमा इङ्ल्यान्डलाई नतिजा सुम्पिएको थियो। त्यसैले समूह ‘डी’ मा शुक्रबार चेक रिपब्लिकविरुद्ध मैदान उत्रँदा क्रोएसिया जितका साथ अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न चाहन्छ। यद्यपि जाल्टको डालिचको टोली जितलय भेट्टाउन संघर्षरत छ। क्रोएसिया पछिल्लो ३ खेलमा जितविहीन बन्दै आएको छ।  

यता चेक रिपब्लिकले समूहको पहिलो खेलमा स्कटल्यान्डलाई हराउँदै उत्कृष्ट सुरुआत गरिसकेको छ। क्रोएसियाविरुद्धको जितले चेक गणतन्त्र एक खेलअगावै अन्तिम १६ मा प्रवेश गर्नेछ। स्कटल्यान्डविरुद्ध चेक रिपब्ल्किका प्याट्रिक सेचेकले दुई गोल गरेका थिए। क्रोएसिया र चेक रिपब्लिक युरो कपमा तीन पटक आमनेसामने भएका छन्। जसमध्ये २ खेल क्रोएसियाले जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो। फ्रान्स युरो कप २०१६ मा पनि यी दुई टोली समूह चरउणमा प्रतिस्पर्धा गरेका थिए। सो खेल २–२ को बराबरीमा सकिएको थियो।

इङ्ल्यान्डविरुद्ध स्कटल्यान्ड  

युरो कप २०२० अन्तर्गत शुक्रबार वेम्बलीमा समूह ‘ई’ का इङ्ल्यान्ड र स्कटल्यान्ड आमनेसामने हुँदै छन्। इङ्ल्यान्ड र स्कटल्यान्ड विश्व फुटबलका सबैभन्दा पुरान प्रतिद्वन्द्वी रहँदै आएका छन्। तर प्रमुख प्रतियोगिताहरूमा भने इङ्ल्यान्ड र स्कटल्यान्ड सन् १९९६ पछि पहिलो पटक भिड्न लागेका हुन्। 

स्कटल्यान्डविरुद्ध जित हात पारेमा गारेथ साउथगेटको टोली एक खेलअगावै नकआउट चरणमा प्रवेश गर्नेछ। पहिलो खेलमा क्रोएसियालाई हराएको इङ्ल्यान्ड ३ अंकका साथ दोस्रो स्थानमा छ। इङ्ल्यान्डले युरो कप इतिहासमा पहिलो खेल जित हात पारेको यो नै पहिलो पटक हो।

यससँगै साउथगेटको टोलीले आफ्नो अपराजित यात्रा सात खेलसम्म लम्ब्याएको छ। स्कटल्यान्डविरुद्ध पनि इङ्ल्यान्ड जितयात्राको निरन्तरता चाहन्छ। यता पहिलो खेलमा चेक रिपब्लिकलाई नतिजा सुम्पिएको स्कटल्यान्ड पनि चिर प्रतिद्वन्द्वीविरुद्ध जितका साथ अघिल्लो चरण प्रवेश सम्भावना बलियो पार्न चाहन्छ। चेक रिपब्लिकविरुद्ध खेल दबाबमा राखे पनि स्कटल्यान्ड नतिजा सुम्पिन बाध्य भएको थियो।

इङ्ल्यान्डविरुद्ध हार वा बराबरीको नतिजाले स्कटल्यान्डको युरो कप २०२० को यात्रा समूहचरणमा सीमित बन्न सक्छ। इङ्ल्यान्ड र स्कटल्यान्ड सन् १९९६ पछि पहिलो पटक युरो कपको समूहचरणमा आमनेसामने हुन लागेका हुन्।

प्रकाशित: ४ असार २०७८ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App