१५ चैत्र २०८० बिहीबार
खेल

युरो कप २०२०ः चेकको जितमा प्याट्रिक नायक

प्याट्रिक सिक चम्किएपछि चेक रिपब्लिकले युरो कप–२०२० मा सोमबार घरेलु टोली स्कटल्यान्डमाथि २–० को रोमाञ्चक जित निकालेको छ।  

ह्याम्पडेन पार्कमा भएको खेलमा चेक रिपब्लिकले पहिलो र दोस्रो हाफमा समान १÷१ गोल गरेको हो। सन् १९९८ पछि स्कटल्यान्डले युरो कप २०२० मार्फत प्रमुख प्रतियोगितामा पुनरागमन गरे पनि सुरुआत राम्रो हुन सकेन। १९९८ मा स्कटल्यान्ड फ्रान्समा भएको विश्वकपमा मोरक्कोविरुद्ध ३–० ले पराजित भएपछि प्रमुख प्रतियोगितामा छनोट हुन असफल रहेको थियो। यसअघि यी दुई टोलीले सन् २०१९ मा युइएफए नेसन्स कपमा प्रतिस्पर्धा गरेका थिए, जसमा स्कटल्यान्डले बाजी मारेको थियो।  

समूह ‘डी’ मा रहेको चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक सिकले ४२औं मिनेटमा पहिलो गोल गरेका थिए। यससँगै चेक रिपब्लिकले युरो कपका पछिल्ला ६ खेलमध्ये पहिलो हाफमा गोल गर्दै सुरुआती अग्रता निकालेको हो। यसअघि २०१२ मा टोलीले ग्रिसविरुद्ध पहिलो हाफमा गोल गरेको थियो। सुरुबाट नै स्कटल्यान्डलाई दबाब दिएर खेलेको चेक रिपब्लिकले ५२औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो। स्कटल्यान्डका गोलकिपर अगाडि बढेको मौकामा प्याट्रिकले मैदानको लगभग मध्यभागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। 

राष्ट्रिय टोलीका लागि २७औं खेल खेलेका प्याट्रिकले सोमबार दुई गोल गर्दा व्यक्तिगत करियरमा १३ गोल पूरा गरेका छन्। त्यसपछि खेलमा फर्किन संघर्ष गरेको स्कटल्यान्डका केही राम्रा अवसरलाई चेक रिपब्लिकका गोलकिपर टोमस भाक्लिकले बचाउँदै विफल बनाउँदा स्कटल्यान्ड निराश हुन पुगेको थियो। चेक रिपब्लिकविरुद्ध प्रतिस्पर्धा गरेको स्कटल्यान्डका गोलकिपर डेभिड मार्सल राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्ने दोस्रो पाका खेलाडी भएका छन्। ३६ वर्ष १ सय १ दिनको उमेरमा मार्सलले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका हुन्। यसअघि जिम लिंकटनले १९९८ को विश्वकपमा ३९ वर्ष हुँदा राष्ट्रिय टोलीबाट खेलेका थिए।  

यसअघि पहिलो हाफमा स्कटल्यान्ड गोलका केही अवसर बनाए पनि मौकालाई सदुपयोग गर्न चुकेको थियो। चेक रिपब्लिकका गोलकिपरको प्रदर्शन उत्कृष्ट रह्यो।  

स्पष्ट अंक जोडेको चेक रिपब्लिकले आगामी खेल पहिलो खेल गुमाएको क्रोएसियासँग खेल्दा अंक गुमाएको स्कटल्यान्डले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै युरो कपमा सुखद सुरुआत गरेको थियो।

प्रकाशित: १ असार २०७८ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App