१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अल्बानियासँग वेल्सको बराबरी

आगामी शुक्रबारबाट आयोजना हुने युरो कप फुटबल २०२० अघि भएको मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग शनिबार गोलरहित बराबरीमा रोकिएको छ।  

६५ सय दर्शक उपस्थित भएको रंगशालामा वेल्स अल्बानियासँग गोलरहित बराबरीमा रोकिएको हो। यो बराबरीले स्विट्जरल्यान्डसँग खेल्दै युरो कपको संस्करण सुरुआत गर्न लागेको वेल्सको मनोबलमा ठेस लागेको छ। जितको लक्ष्यका साथ मैदान उत्रिएको वेल्स पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा युरो कपअघि सुखद नतिजा निकाल्न असफल भएको हो। बराबरी नतिजाले अन्तरिम प्रशिक्षक रोबर्ट पेजमा केही निराशा देखिएको छ।  

प्रशिक्षक पेजले अनुभवी खेलाडी ग्यारेथ बेललाई नतिजाका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराए पनि उनले चमत्कार गर्न सकेनन्। यसअघि २०१८ मा भएको मैत्रीपूर्ण खेलमा बेलले वेल्सलाई सुखद नतिजा दिलाएका थिए।  

१९ मिनेट बाँकी रहेको अवस्थामा मैदान प्रवेश गरेका बेलले टोलीलाई संयोजन गर्दै गोलका केही राम्रा अवसर सिर्जना गराए पनि अग्रपंक्ति गोल गर्न असफल भएको थियो।  

२०१९ पछि पहिलो पटक वेल्सको खेल हेर्नका लागि समर्थकलाई रंगशालामा प्रवेश अनुमति दिइएको थियो। कार्डिफ सिटीमा भएको खेलमा करिब ६५ सय समर्थक वेल्सको समर्थनमा मैदान आएका थिए। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना भएको प्रतिस्पर्धामा समर्थक गोल भएको क्षणमा रमाउन भने चुकेका थिए।  

युरो कपअन्तर्गत समूह ‘ए’ मा रहेको वेल्सले स्विट्जल्यान्डका अलावा टर्की र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। एक वर्ष पछि आयोजना हुन लागेको युरो कप आगामी शुक्रबारबाट युरोपका विभिन्न देशमा आयोजना हुँदै छ। सोही प्रतियोगिताका लागि वेल्सले तयारीका रूपमा मैत्रीपूर्ण खेल खेलेको हो।  

मैत्रीपूर्ण खेलअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा स्विडेनले आर्मेनियामाथि ३–१ को जित निकालेको छ। स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जलले समान एक गोल गरेका थिए। आर्मेनियाका भाहान बिचक्छ्यानले सान्त्वना गोल फर्काएका थिए। युरो कप फुटबलको तयारीको लागि स्विडेनले पनि अर्मेनियासँग प्रतियोगिताअघि मैत्रीपूर्ण खेल खेलेको हो। स्विडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरो कपको सुरुवात गर्ने छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App