१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली फुटबल टोली इराक जाँदै

नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ। इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो।  

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ। मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका थिए। यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो। इराक उड्नुअघि नेपाली टोलीको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ।  

समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनीज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ। नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन्। नेपाली टोली जेठ २९ गते नेपाल फर्किने छ। रासस

प्रकाशित: ११ जेष्ठ २०७८ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App