८ वैशाख २०८१ शनिबार
खेल

नेपाल सुपर लिग: धनगढीको पहिलो जित

स्ट्राइकर ओलाओले अफिजको दुई गोलप्रेरित धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौँ  रेजर्समाथि ३–० को जित हात पारेको हो। पहिलो खेलमा धनगढी विराटनगर सिटी एफसीसँग ३–० ले स्तब्ध भएको थियो।

काठमाडौंविरुद्ध पहिलो मिनेटबाटै आक्रामक बनेको धनगढीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो। १९औं मिनेटमा टंक बस्नेतले गरेको गोलबाट धनगढीले अग्रता लिएको थियो। टंकले गरेको क्रसले काठमाडौं रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुलाई छुँदै पोस्टको दिशा लिएको थियो। त्यसको तीन मिनेटपछि नै ओलाओलेको गोलमा धनगढीले अग्रता दोब्बर पारेको थियो। ओलाओलेले काउन्टर अट्याकमा बललाई जाली चुमाएका थिए। पहिलो हाफअन्तर्गत इन्जुरी समयको चौथो मिनेटमा ओलाओलेले धनगढीको अग्रता दोब्बर पारेका थिए। उनले दर्शन गुरुङको पास सदुपयोग गरेका थिए।

‘विराटनगरविरुद्ध हामी सबै पक्षमा कमजोर देखिएका थियौँ। आज ती कमजोरीमा सुधार गर्दै स्वाभाविक प्रदर्शन गर्दा काठमाडौविरुद्ध सहज जित हात पार्न सफल भयौँ,’ धनगढीका प्रशिक्षक युगलकिशोर राईले भने, ‘पहिलो खेलमा तीन अंक गुमाए पनि हामी जितको लयमा फर्किएका छौं। यस जितले टोलीको मनोबल बढेको छ। पछिल्लो खेलमा हामीले पर्याप्त गोलको अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेका थिएनौँ। आज काठमाडौंविरुद्ध केही अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्र्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयौं।’

खेलको पहिलो मिनेटमा नै धनगढीले अग्रता लिने अवसर पाएको थियो। तर दर्शनको पासमा ओलाओलेले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। सातौँ मिनेटमा काठमाडौंका रक्षक फ्लोरेन्ट कोउराको फ्रि किक धनगढीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले बचाएका थिए। १३औं मिनेटमा दर्शन गुरुङको प्रहार विकेशले जोगाउँदा धनगढीले अग्रता लिने अर्कोे अवसर गुमाएको थियो। ३३औं मिनेटमा ओलाओले विकेशसँग वान भर्सेस वानमा चुक्दा धनगढीले अग्रता फराकिलो पार्ने अवसर खेर फालेको थियो।

रक्षक रमेश दंगाल ६ मिनेटको अन्तरमा दुई पहेंलो कार्डको दर्शन गर्दै बाहिरिँदा धनगढीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। प्रतियोगितामा रमेशको यो पहिलो खेल थियो। यता पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध १–० को जित हात पारेको काठमाडौँले दोस्रो खेलमा भने जितको लयलाई निरन्तरता दिन सकेन। ‘पहिलो हाफमै ३–० ले पछि परेपछि हामीले खेलमा कम ब्याक गर्न सकेनौँ,’ काठमाडौँका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हामी आज सबै पक्षमा कमजोर रह्यौँ। हाम्रा खेलाडी बढी आत्मविश्वासी बनेको जस्तो देखियो।’

प्रकाशित: १५ वैशाख २०७८ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App