४ वैशाख २०८१ मंगलबार
खेल

सानदार जित सुखद डेब्यु

डेब्युटेन्ट ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी शतकीय साझेदारीबाट नेपालले शनिबार चिर प्रतिद्वन्द्वी नेदरल्यान्डमाथि ९ विकेटको सानदार जित निकाल्दै घरेलु भूमिको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ।१ सय ३७ रनको मध्यम लक्ष्य नेपालले ३० बलअगावै मात्र एक विकेटको क्षतिमा पूरा गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको तीन देशीय शृंखलामा सुखद सुरुआत गरेको हो।

प्रशिक्षक डेभ ह्वाटमोरले डेब्यु खेलमै कुशल र आसिफलाई ओपनिङमा पठाउँदै चुनौती लिए पनि युवा जोडी प्रशिक्षकको भरोसाप्रति खरो उत्रियो। दुवैले अर्धशतक पूरा गर्दा पहिलो विकेटका लागि नेपालको तर्पmबाट १ सय १६ रनको नयाँ कीर्तिमानी साझेदारी पनि बन्यो। यसअघि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १ सय ८ रनको साझेदारी बनाएका थिए। नेपालले ट्वान्टी–२० क्रिकेटकै सबैभन्दा सफल नतिजा आत्मसात् गर्दा कुशलले ६२ रन र आसिफले अविजित ५४ रनको इनिङ खेले। यता महत्वपूर्ण खेलाडी पारसबिना नै ह्वाटमोरले आफ्नो प्रशिक्षणको पहिलो खेलमै नेपाललाई सफलता दिलाए। सरकारले भीडभाड गर्न प्रतिबन्ध लगाए पनि आयोजनाको व्यवस्थापकीय जिम्मेवारी पाएको जोरा  

स्पोटर््स एन्ड म्यानेजमेन्टले उक्त खेलमा करिब पाँच हजार दर्शक प्रवेश गराएको थियो। घरेलु समर्थकको राम्रो साथ पाएको नेपालका कुशल पहिलो ओभरको तेस्रो बलमै क्याच भएका थिए। यद्यपि, भिभियन किङ्माको उक्त बललाई अम्पायर दुर्गानाथ सुवेदीले ‘नो बल’को इसारा दिइसकेकाले कुशलले जीवनदान पाए। त्यसलगत्तै कुशलले लगातार ठूला सट खेल्दै डच बलरमाथि दबाब सिर्जना गर्दा अर्को छेउबाट आसिफले पनि दरिलो साथ दिए। १२.४ ओभरमा कुशल ६२ रनमा पवेलियन फर्किंदा नेपालको पहिलो विकेट पतन भएको थियो। जुलियन डे मेको बलमा ठूलो सट खेल्ने चक्करमा कुशल क्याच भए। 

म्यान अफ दी म्याचसमेत घोषित कुशलले ४६ बलमा समान पाँच चौका र छक्का हिर्काए। पहिलो विकेट पतन हुँदा नेपाललाई ४४ बलमा २१ रन आवश्यक थियो। त्यसपछि आएका कप्तान ज्ञानेन्द्रले पनि इनिङ समाल्दै आसिफलाई साथ दिए। आसिफले फिलिप बोइसेभेनको बलमा छक्का प्रहार गर्दै ३६ बलमा अर्धशतक पूरा गरे। यस क्रममा आसिफले ३८ बलमा समान चार चौका र छक्का हिर्काउँदा ज्ञानेन्द्रले ७ बलमा अविजित १३ रनको योगदान दिए। जुलियनको बलमा ज्ञानेन्द्रले छक्का प्रहार गर्दै जित दिलाउँदा नेपालले डच टोलीसँगको नवौं भेटमा तेस्रो सफलता निकाल्यो। नवौं भेटमा डच टोलीले पाँच खेलको नतिजा आफ्नो बनाउँदा एक खेल भने वर्षाका कारण प्रभावित भएको थियो।

त्यसअघि अर्का डेब्युटेन्ट साहब आलमबाहेक अन्य बलरले कसिलो बलिङ गर्दा नेदरल्यान्डले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो। सन्दीप लामिछानेले दुई तथा आलम र सोमपाल कामीले १÷१ विकेट लिए। इनिङको दोस्रो ओभरमै सन्दीपले म्याक्स ओ डाउडलाई १० रनमा एलबिडब्लु सिकार बनाउँदा तेस्रो ओभरको चौथो बलमै सोमपालले बेन कुपरलाई शून्यमै पवेलियन फर्काए। यद्यपि, अर्का ओपनर स्कट एडवार्ड्सले तेस्रो विकेटका लागि बास डी लिडेसँग ६१ रनको साझेदारी गर्दै इनिङ समाले। सन्दीपकै बलमा आउट हुनुअघि लिडेले तीन चौका र दुई छक्काको मद्दतमा ४१ रन बनाए। एडवार्ड्स ३० रनमा पवेलियन फर्किंदा कप्तान पिटर सिलारले २३ रन र एन्टोनियस स्टालले २० रनको नटआउट इनिङ खेल्दै डच टोलीको इनिङ उकासे। समान चार ओभरमा सोमपालले कसिलो बलिङ गर्दै १३ रन मात्र खर्चिंदा सन्दीपले २२ रन दिए।

प्रकाशित: ५ वैशाख २०७८ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App