१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

उत्तरार्धमा गतिविधि बढेको वर्ष

कोभिड १९ को महामारीका कारण अन्य क्षेत्रजस्तै नेपाली खेलकुदका लागि पनि सुखद रहन सकेन– बितेको वर्षको पूवार्धमा खेलकुद गतिविधि सञ्चालन नभए पनि उत्तरार्धमा भने केही गतिविधि बढे।

२०७६ चैत ११ गतेबाट नेपाल पूर्ण रूपमा लकडाउनमा गएको थियो। त्यसपछि वर्ष २०७७ को सुरुआतबाटै खेलकुद गतिविधि ठप्प रह्यो। जेठ पहिलो साताबाट ब्याटमिन्टन संघले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्दै प्रशिक्षण सुरु गर्‍यो। त्यस्तै ओलम्पिक छनोटको तयारीमा रहेको कराते टोलीले पनि जेठ दोस्रो साताबाट प्रशिक्षण सुरु गरेको थियो।

ब्याडमिन्टन र करातेसँगै नेपाली राष्ट्रिय फुटबल टोली र क्रिकेट टोलीले पनि प्रशिक्षण सुरु गर्ने घोषणा गरे। नेपाली राष्ट्रिय फुटबल टोली कतार विश्वकप २०२२ अन्तर्गत होम म्याचको तयारीमा थियो। नेपालले लकडाउनअघि दशरथ रंगशालामा अस्ट्रेलिया र चाइजिन ताइपेईविरुद्ध खेल्ने तालिका रहे पनि सो छनोट खेल पटकपटक सरेको थियो। चैत २०७६ बाट सरेको विश्वकप छनोटका खेल अक्टोबरका लागि तय भएको थियो।

तर फिफाले कोभिड १९ महामारीको जोखिम कायम नै रहेको भन्दै अक्टोबरका लागि तय भएको खेल पनि स्थगित गरेको थियो। नेपालले विश्वकप छनोटकै तयारीस्वरूप नोभेम्बरमा दुई खेलका लागि बंगलादेश भ्रमण गरेको थियो, जहाँ पहिलो खेलको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भने बंगलादेशसँग बराबरी खेलेको थियो।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस ७ बाट महिला राष्ट्रिय लिगको आयोजना गरेको थियो। त्यसको एक सातापछि गत वर्ष रोकिएको ‘बी’ डिभिजनका खेल सञ्चालन गरेको एन्फाले हालै मात्र ‘सी’ डिभिजन पनि सम्पन्न गरेको छ।  

मार्चका लागि घोषित विश्वकप छनोटका खेल जुनका लागि सरेसँगै नेपालले चैत दोस्रो साता नेपाल र बंगलादेशको राष्ट्रिय टोली तथा किर्गिस्तानको यु–२३ टोली सम्मिलित त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेको थियो। जहाँ नेपाली टोलीले करिब १८ महिनाको गोल खडेरी तोड्दै उपाधि जितेको थियो। त्यस्तै चैत २५ मा त्रिभुवन आर्मी क्लबले दशरथ रंगशालामै भएको एएफसीअन्तर्गत छनोट चरणमा श्रीलंका पुलिस क्लबलाई हराउँदै दोस्रो चरणका लागि छनोट भयो।

नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्टले नेपालमै पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को घोषणा गर्‍यो। यता नेपाल क्रिकेट संघ (क्यान) ले माघमा काठमाडौ महानगरपालिका मेयर कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्‍यो। चैत अन्तिम साता क्यानले ललितपुर महानगरपालिका मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना सम्पन्न  गरेको थियो।

यता चैत अन्तिम साता नै नेपाल भलिबल संघले राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्‍यो। वर्ष २०७७ को त्रिदेशीय कप फुटबलमा पाएको सफलताले सुखद अन्त्य भएको छ। वर्ष २०७८ को सुरुआत भने नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय क्रिकेट प्रतियोगिताबाट सुरु हुनेछ। त्यस्तै वैशाख ११ गतेबाट सुरु हुने एनएसएलले नेपाली समर्थकमाझ अर्को रौनक थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १ वैशाख २०७८ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App