१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल, शनिबारसम्ममा राष्ट्रिय लाइनमा जोडिने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिबार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।

मंसिर ९ गतेबाट सुरु भएको प्रसारण लाइनको परीक्षण कार्य सफल भएसँगै नेपाल बिद्युत प्राधिकरणका प्राविधिकमार्फत अन्तिम चेकजाँच गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए। उनका अनुसार बिद्युतगृह रहेको रातेखोला देखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त बिद्युत पाँचथरको अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल बिद्युत् प्राधिकरणको १३२ केभिए बिद्युत प्रसारण लाइनसम्म सफल भएको छ।

‘हामीले निर्माण गरेको बिद्युत प्रसारण लाइनमार्फत केन्द्रीय बिद्युत प्रसारण लाइनमा समाहित गर्ने स्थल दुबीचौर सम्म प्रसारण लाइनको परीक्षण सफल भएको छ’ढुङ्गाना भने। उनले अन्तिम चेकजाँच तथा निरीक्षणका लागि बिद्युत प्राधिकरणका प्राविधिकहरुको टोली अमरपुरका लागि हिँडेको जानकारी दिए। यो सँगै शुक्रबार साँझ वा शनिबार बिहान सम्ममा सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसक्ने छ।

स्नो रिर्भस लिमिटेडले निर्माण गरेको उक्त बिद्युत आयोजना २०७९ मंसिर २५ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो। बाढी र पहिरोका कारण जलविद्युतका निर्माण भएका संरचना तथा निर्माण स्थलमा रहेका निर्माण सामग्री बगाएर अवरोध खेपे पनि निर्माण सुरु गरेको छोटो अवधिमै निर्माण कार्य पूरा भएकोमा निर्माण निकाय सन्तुष्ट देखिएको छ। प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत झण्डै २ अर्ब ६३ करोड २५ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ। 

प्रकाशित: १३ मंसिर २०८१ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App