महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ।
प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै प्रतियोगितालाई प्रतिस्पर्धामा मात्र सीमित नराखी आपसी सद्भाव कायम गर्न र भाइचारा अभिवृद्धि गर्न प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिता आयोजना गर्न प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णपति आभार व्यक्त गर्दै धन्यवाद दिए। आयोजक मञ्चका महासचिव पेम्बाछिरी प्रतियोगिताले शेर्पाहरू हिमाल आरोहणमा मात्र नभई खेल क्षेत्रमा पनि अब्बल छन् भन्ने सन्देश दिन सफल भएको बताए।
पहिलो दिन एक खेल मात्र भयो। समूह ‘ए’ को लिगमा आयोजक मञ्च र खुन्डे कम्युनिटी क्लबले एक गोलको बराबरी खेले। मञ्चका पासाङ ग्याल्जेन शेर्पा ‘प्लेयर अफ दी म्याच’ घोषित भए।
मञ्चबाट पासाङले नै गोल गरेका थिए। लिग कम नकआउट प्रतियोगितामा आयोजकको १ सहित ८ टोली सहभागी छन्। नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरूले जाडो यामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारका अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए।
प्रतियोगिताको दोस्रो दिन आइतबार तीन खेल हुनेछन्। खुम्जुङ युथ क्लब र खुम्बु याङ्बु शेर्पा समाज, ठमिछेवा फुटबल टिम र नाम्चे युथ क्लब तथा अमादब्लाम युथ क्लब र खुम्बु युनाइटेड क्लबबीच खेल हुनेछन्। फाइनल फागुन ३ गते हुनेछ।
प्रकाशित: २५ माघ २०८२ ०७:०० आइतबार





