१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

त्रिदेशीय कप: नेपाललाई उपाधि

त्रिदेशीय कपको उपाधि नेपालले जितेपछि सोमबार दशरथ रंगशालामा खेलाडीहरूसँग खुसी साट्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: मोनिका मल्ल/नागरिक

मार्चका लागि तय कतार विश्वकप २०२२ को छनोटका खेल जुनमा सरेसँगै घरेलु मैदान दशरथ रंगशालामा नेपाली समर्थककोे सिनियर राष्ट्रिय टोलीकोे खेल हेर्ने इच्छा केही पर धकेलिने सँघारमा थियो। खेल भइहाले पनि कोभिड–१९ महामारी पूर्ण रूपमा नहटिसकेकाले समर्थकले प्रत्यक्ष रूपमा रंगशालामा गएर खेल हेर्न पाउँछन् भन्ने द्विविधा पनि कायम थियो।

गत वर्ष चैतमै नेपालले दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गतका खेलहरू खेल्ने तालिका थियो, जुन कोभिड–१९ को माहामारीका कारण तीनपटक सरेको थियो। विश्वकप छनोटको तयारीमा रहेको नेपालले पछिल्लोपटक २०२० नोभेम्बरमा बंगलादेश भ्रमण गर्दै दुई खेल खेले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन। विश्वकप छनोट चरणअन्तर्गत १८ महिनाघि चाइनिज ताइपेईविरुद्ध दुई गोल गरेर जित हात पारेयता नेपाली खेलाडीको प्रहारबाट बलले जाली चुम्न सकिरहेको थिएन।

विश्वकप छनोटकै तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशको राष्ट्रिय टोली तथा किर्गिस्तानको यु–२३ टोली सम्मिलित त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गर्‍यो। यो प्रतियोगिता पूर्वकप्तान विराज महर्जनको खेलसँगै सुखद बिदाइ हुने रहर, समर्थकको घरेलु मैदानमै राष्ट्रिय टोलीको खेल हेर्ने इच्छा र राष्ट्रिय फुटबल टोलीको भूकम्पपछि दशरथ रंगशालामा खेलेर गोल खडेरी तोड्दै उपाधि भोक मेटाउने चाहना पूरा गर्ने संयोग बन्न पुग्यो।

गत साताबाट सुरु भएको प्रतियोगितामा बंगलादेशसँगै आयोजक नेपाललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। बंगलादेशले प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा कीर्गिस्तानको युवा टोलीमाथि १–० को जित हात पार्‍यो। दोस्रो खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो। शनिबार भने बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले उपविजेताका रूपमा फाइनलको यात्रा तय गरेको थियो।

सिनियर टोलीका केही खेलाडी यसपटक राष्ट्रिय टोलीमा नअटाएको भन्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जन आलोचित पनि बने। त्यसमाथि लगातार दुई खेलमा गोलरहित बराबरी टोली रोकिएपछि उनीमाथि झनै दबाब सिर्जना भएको थियो।

तर सोमबार नेपालले १८ महिनापछि गोल खडेरी तोड्दै त्रिदेशीय कपको उपाधि मात्र उचालेन, प्रशिक्षक महर्जनमाथिको दबाबलाई समेत चिर्ने काम गर्‍यो। सोमबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशमाथि २–१ को जित हात पारेको हो। नेपालको जितमा सन्जोग राई र विशाल राईले एक/एक गोल गरे। बंगलादेशका महबुबुर रहमानले एक गोल गरे पनि त्यो टोलीका लागि खेलमा फर्काउन पर्याप्त बनेन। शनिबार बंगलादेशविरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका सन्जोेगले दोस्रो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गर्न भ्याए।

‘मलाई मेरो टोलीप्रति पूर्ण रूपमा विश्वास थियो। टोलीमा भित्रिएका युवा खेलाडीहरूको प्रदर्शनबाट मलाई गर्व छ,’ कप्तान किरणकुमार लिम्बूले भने, हामी नेपाली समर्थकलाई खुसी दिन चाहन्थ्याैं, जुन इच्छा पूरा भएको छ। हामीले ६ वर्षपछि दशरथ रंगशालामा खेलेका हौं। हामी त्यसका लागि उत्साही थियाैं। समर्थकको उल्लेख्य उपस्थितिले हाम्रो उत्साह थपिएको थियो। त्यसैले आजको जित म नेपाली दर्शकप्रति समर्पण गर्न चाहन्छु।’ 

किरणले प्रतियोगिताअघि पूर्वकप्तान विराज महर्जनसँग सुखद बिदाइको वाचा गरेको र त्यसले पूर्णता पाएकोसमेत बताए। ‘मैले र विराजले १३ वर्ष सँगै खेल्यौं,’ उनले भने, ‘विराजले यसै प्रतियोगितामार्फत दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए। उनको इच्छा थियो, घरेलु मैदानमा घरेलु समर्थकमाझ सुखद बिदाइ। हामीले जितका साथ उनको त्यो इच्छा पूरा गरेका छौं। आशा छ, अन्तर्राष्ट्रिय फुटबलमा पूर्णविराम लगाए पनि उनले घरेलु फुटबलमा थप सफलता चुम्दै जानेछन्। शुभकामना विराज।’  

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर हात पार्दा उपविजेता बंगलादेशले ३ हजार डलर प्राप्त गर्‍यो। नेपालका रोहित चन्द प्रतियोगिताकै सर्वोेत्कृष्ट खेलाडी बन्दै ५ सय अमेरिकी डलरका हकदार बने। नेपाल–बंगलादेश फाइनल खेलमा आमनेसामने भएको यो तेस्रोपटक हो। यसअघि नेपाल र बंगलादेश सन् १९९४ को पहिलो साग र १९९९ को आठाैं सागमा भिडेका थिए। पहिलो सागमा नेपालले जित हात पारेको थियो। आठौं सागमा भने नेपाल बंगलादेशलाई नतिजा सुम्पिन बाध्य भएको थियो।

प्रकाशित: १७ चैत्र २०७७ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App