१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सञ्जयको टिमलाई प्रो–एम स्पर्धाको उपाधि

धरान ओपन गल्फमा प्रो एम उपाधि विजेता खेलाडीहरुलाई ट्रफी वितरण गरेपछि मुख्यमन्त्री शेरधन राई। तस्बिर : रोहित राई

प्रोफेस्नल खेलाडी सञ्जय लामाको टिमले धरान ओपन गल्फ प्रतियोगिताअन्तर्गतको प्रो–एम स्पर्धाको उपाधि जितेको छ।

पार ७० को गल्फ कोर्षमा शनिबार आयोजित स्पर्धामा लामा नेतृत्वको एमेच्योर खेलाडी रहेको टिमले १ सय ६४ स्कोर बटुल्दै उपाधि जितेको हो। लामाको टिममा एमेच्योर खेलाडीहरु नयन राई, भरत तामाङ र आर्शिया बनु रहेका थिए। सञ्जयले ३८, नयनले ४३, भरतले ४२ र अर्शियाले ४१ स्कोर गरेका थिए।  

यस्तै, प्रोफेस्नल खेलाडी शुक्रबहादुर राईको टिम कुल १ सय ५६ अंकसहित दोस्रो भयो। शुक्रको टिममा एमेच्योर खेलाडीहरु सुमित्रा लिम्बु, हेमन्त थापा र पारुहाङ सुनुवार थिए। शुक्रले ३७, सुमित्राले ४०, हेमन्तले ४० र पारुहाङले ३९ स्कोर गरेका थिए। अर्का प्रोफेस्नल खेलाडी निरज तामाङको टिम १ सय ५२ अंकका साथ तेस्रो भयो। उनको टिममा एमेच्योर खेलाडीहरु सुमोद बस्तकोटी, काजी थाप्मादेन र भिम दाहाल रहेका थिए। निरजले ३६, सुमोदले ३९, काजीले ३९ र भिमले ३८ स्कोर गरेका थिए।

महिलातर्फको विजेता आर्शिया बनु भइन्। लङ्गेष्ट ड्राइभको पुरस्कार राजकुमार राई र क्लोसेट टु दिन पिनको पुरस्कार सुरज श्रेष्ठले जिते। विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल गल्फ संघका उपाध्यक्ष तथा धरानका मेयर तिलक राई, नेपाल प्रहरीका एआइजी हरि पाललगायतले पुरस्कार वितरण गरेका थिए। 

मेयर राईले धरानको गल्फ कोर्षको संरक्षणको लागि प्रदेश सरकारसँग आग्रह गरेका थिए। मुख्यमन्त्री राईले प्रदेशले सबै खेल क्षेत्रको विकास र संरक्षणलाई प्राथमिकता दिएको धारणा राख्दै गल्फ कोर्षको संरक्षणमा साथ दिने बताएका थिए। प्रतियोगिताको मुख्य स्पर्धातर्फ शुक्रबार धरानका युवा गल्फर शुक्रबहादुर राईले उपाधि जितिसकेका थिए।

प्रकाशित: १४ चैत्र २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App