५ वैशाख २०८१ बुधबार
खेल

टोकियो ओलम्पिक: विदेशी समर्थकलाई मैदानमा प्रवेश निषेध

कोभिड १९ महामारीको त्रास समाप्त नभइसकेको भन्दै जापानले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक २०२० मा विदेशी समर्थकलाई मैदान प्रवेशमा निषेध गरेको छ। जापानी अधिकारीहरूले ओलम्पिक र पारा ओलम्पिक कमिटीलाई प्रतियोगितादौरान विदेशी नागरिकलाई जापान प्रवेशमा अनुमति दिन नसकिने बताएका छन्।  

जापान सरकारको यो निर्णयसँगै ओलम्पिक र पारा ओलम्पिक आयोजकले भने प्रतियोगितामा टिकट ककसलाई दिने बारे स्पष्ट भएको जनाएका छन्। साथै उनीहरूले प्रतियोगिता थप सुरक्षित हुने र प्रतियोगितामा सहभागी खेलाडी र जापानी नागरिकमाथि पनि जोखिम कम हुने प्रतिक्रिया दिएका छन्।  

सन् २०२० मै टोकियो ओलम्पिक आयोजना हुनुपर्ने भए पनि कोभिड १९ को विश्वव्यापी महामारीका कारण प्रतियोगिता एक वर्ष पछिका लागि सरेको थियो। नयाँ तालिकाअनुसार प्रतियोगिता जुन २३ मा सुरु हुनेछ भने अगस्ट २४ मा पारा ओलम्पिक सुरु हुनेछ। ‘जापानका साथै अन्य धेरै राष्ट्रमा कोभिड १९ को ताजा अवस्था र विदेशी पर्यटकको आवतजावतमा लगाइएको प्रतिबन्धमा हामी टोकियो ओलम्पिक र पारा ओलम्पिक दौरान विदेशी समर्थकलाई मैदान प्रवेशमा अनुमति दिन सक्दैनौं।

यसअघि टिकट बुकिङ गरेका समर्थकले टिकट रकम फिर्ता पाउनेछन्,’ टोकियो ओलम्पिक २०२० ले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ओलम्पिक इतिहासमै पहिलो पटक प्रतियोगिता सरेको हो, जहाँ २ सय राष्ट्रका ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले भने यो निर्णयलाई ‘सबैको बलिदानी’ भएको प्रतिक्रिया दिएका छन्।

‘हामी विश्वभर रहेका ओलम्पिकका समर्थकसँग दुख बाँड्न चाहन्छौं,’ बाचले भने, ‘हामी प्रतियोगिता आयोजना गर्दैै छौं, तर विदेशी समर्थकबिना। त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु। यो सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै लिएको निकै राम्रो निर्णय हो। हामी अब प्रतियोगिता सफल पार्न लाग्नुको विकल्प छैन।’

त्यस्तै अन्तर्राष्ट्रिय पारा ओलम्पिकका प्रमुख एन्ड्र्यु पार्सनले यो निकै कठिन निर्णय भएको बताए। ‘स्वास्थ्य पहिलो प्राथमिकता हो,’ पार्सनले भने, ‘हामी विदेशी समर्थकबिनै खेल आयोजना गर्दै छौं। यो निकै कठिन परिस्थिति हो र हामी सबै मिलेर यसको सामना गर्नुपर्छ।’ यसै वर्षको सुरुआतमा जापानका प्रधानमन्त्री योसिहिदे सुगादेले प्रतियोगिता स्वास्थ्य मापदण्ड पालना गर्दै आयोजना गर्नु सबैको जिम्मेवारी भएको बताएका थिए।

प्रकाशित: ८ चैत्र २०७७ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App