१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा प्रेसिडेन्ट लिग–२०७७ः धम्बोझी र धादिङ समाजको विजयी सुरुवात

प्रतियोगिता अन्तर्गत मंगलबार आयोजित खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : नागरिक

लुम्बिनी प्रदेशको लिग च्याम्पियन ‘धम्बोझी क्लब बाँके’ र प्रदेश नम्बर ३ को लिग च्याम्पियन ‘धादिङ समाज धादिङ’ ले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुवात गरेका छन्। धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० गोलले पराजित गर्‍यो। खेलमा धम्बोझीको लागि पुर्णबहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरे। खेलमा पुर्ण म्यान अफ द म्याचबाट पुरस्कृत भए। उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् नेपाल ओलम्पिक कमिटी सदस्य दिर्घबहादुर केसी (कुमार)ले नगद पाँच हजारसहित सम्मान गरे।  

दोस्रो खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गर्‍यो। धादिङका तर्फबाट कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे।  

अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए। यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरे। लेकालीका तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरे। खेलको म्यान अफ द म्याच घोषित अमिरलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे। प्रतियोगिता अन्तर्गत बुधबार एक मात्र खेल हुनेछ। प्रदेश १ को सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।  

नेपालगन्ज रंगशालामा सोमबारबाट सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। यही चैत १५ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रदेश नम्बर १ बाट सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ बाट धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ को त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुरपश्चिम प्रदेशबाट स्टार सिटी युवा क्लब कैलाली प्रतिस्पर्धामा छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७७ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App