२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नहुने

गत वर्षको विजेता र उपविजेतालाई पुरस्कार राशी दिन अझै बाँकी

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण आयोजना नहुनेबारे जानकारी दिदै धरान फुटबल क्लब । तस्बिर : रोहित राई

दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको मेफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकप यसपाली नहुने भएको छ । कोरोना महामारीको कारण सबै क्षेत्रमा आर्थिक अवस्था जर्जर भएको र सहयोग जुट्ने अवस्था नभएको कारण देखाउदै आयोजकले गोल्डकपको २३ औं संस्करण आयोजना नगर्ने घोषणा गरेको हो । आयोजक धरान फुटबल क्लबले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै गोल्डकप आयोजना हुन नसक्नुको मुख्य कारण कोरोना महामारी भएको जनाएको छ । साथै, सम्बन्धित निकायहरुबाट समयमा नै आर्थिक सहयोग नपाउनु पर्ने अर्को कारण भएको अध्यक्ष किसोर राईले बताए ।  

‘हाम्रो प्रतियोगिताको कुल बजेटको ७५ प्रतिशत दाताहरुबाट सहयोग स्वरुप प्राप्त हुने गर्छ, बाँकी २५ प्रतिशत बजेट प्रायोजक, सहप्रयोजकहरुबाट पाउछैं,’एन्फा प्रदेश १ समिति अध्यक्षसमेत रहेका अध्यक्ष राईले भने,‘अहिले कोरोना संक्रमण र मृत्युदर कमी भएपनि देशको अर्थव्यवस्था जर्जर छ, यो अवस्थामा आर्थिक सहयोग लिनु अव्यवहारिक हुने भएकोले २३ औं संस्करण रोक्ने निर्णय गरेका छौं ।’

बुढासुब्बा गोल्डकप पहिलो पटक स्थगित भएको हो । वि.स.२०५५ सालमा स्थापना भएको क्लबले सोही वर्षदेखि बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको थियो । थुप्रै प्रतियोगिताहरु रोकिए पनि बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने नेपालको एक मात्र प्रतियोगिताको रुपमा प्रतिष्ठा कमाएको थियो ।  

गत संस्करणको पुरस्कार राशी दिन बाँकी

आयोजक क्लबले गत बर्ष (२२ औं सँस्करण)को विजेता र उपविजेतालाई अझैसम्म पुरस्कार राशी उपलब्ध गराउन सकेको छैन । गत वर्ष मनाङ मस्र्याङ्दीले बुढासुब्बा गोल्डकमा उपाधि जितेको थियो भने नेपाल पुलिस क्लब उपविजेता भएको थियो । विजेताले पाउने १० लाख मध्ये हालसम्म २ लाख ५० हजार मात्र आयोजकले उपलब्ध गराउन सकेको छ । बाँकी ७ लाख ५० हजार अझै दिन नसकेको अध्यक्ष राईले बताए ।

यस्तै, दोस्रो पुरस्कारको राशी नगद ५ लाख पनि नेपाल पुलिसले पाएको छैन । क्लबका अध्यक्ष राईले प्रदेश १ सरकारबाट १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख बजेट विनियोजन गरिएपनि हालसम्म उपलब्ध नहुँदा पुरस्कार राशी दिन नसकेको बताए । ‘प्रदेशले दिने १० लाख पहिलो पुरस्कार र राखेपको ५ लाख दोस्रो पुरस्कार दिने भनेका थियौं, तर अनेक प्रयास गर्दा पनि पाउन सकेनौं । दुःखका साथ भन्नुपर्छ २२ औं सँस्करणसम्म आइपुग्दा कहिले पनि यस्तो भएको थिएन,’उनले भने ।

स्थानीय सरकारले अभिभावकत्व लिएन

अध्यक्ष राईले स्थानीय सरकारबाट यथोचित सहयोग नपाउदा पनि यसपाली बुढासुब्बा गोल्डकप रोक्नुपरेको गुनासो गरे । अन्य पालिकाहरुले प्रतियोगितामा ठुलो सहयोग र लगानी गरेपनि धरान उपमहानगरले भने वेवास्ता गरेको उनको आरोप छ । ‘धरानलाई खेलकुदको राजधानी बनाउने भन्छौं, मिनि ब्राजिल भन्छौं । तर, यत्रो प्रतिष्ठित गोल्डकप रोकिने अवस्था हुँदा पनि स्थानीय सरकार प्रमुखले चासो लिएको छैन,’उनले भने,‘स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपथ्र्यो, त्यो हुन सकेन । अहिले पनि आवश्यक बजेट उपलब्ध गराओस्, हामी प्रतियोगिता गर्न तयार छौं ।’

प्रकाशित: २८ फाल्गुन २०७७ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App