१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फर्कियो ‘बी’ डिभिजन लिग: खुमलटार र नयाँ बस्तीको सुखद सुरुआत

कोरोना भाइरस महामारीका कारण करिब १ वर्ष स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फर्कंदा नयाँ बस्ती युथ क्लब र खुमलटार युथ क्लबले सुखद सुरुआत गरेका छन्।

लिगअन्तर्गत सोमबार एन्फा मुख्यालय सातदोबाटोको मैदानमा भएको दिनको दोस्रो खेलमा खुमलटारले पुलचोक स्पोर्ट्स क्लबमाथि ५–२ को जित हात पारेको हो। यस जितसँगै खुमलटार लिगतालिकाको शीर्ष स्थानमा फर्किएको छ। ६ खेलमा १६ अंक जोडेको खुमलटार शीर्ष स्थानमा उक्लिएको हो।

समान १६ अंक जोडेको सातदोबाटो युथ क्लब दोस्रो स्थानमा छ। पुलचोकको ६ खेलमा मात्र १ अंक छ। खुमलटारको सहज जितमा महेश राईले दुई गोल गर्दा कप्तान सबिन केसी, आयुष घलान र मनीष सेढांइले समान एक गोल गरेका थिए। पुलचोकका मीनबहादुर गुरुङ र किस्मत लिम्बुले समान एक गोल गरेका थिए । पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएसनको चुनौती २–१ ले समाप्त  पारेको हो।  

खेलको आठाैं मिनेटमा सचु गुरुङले गरेको गोलमा नयाँ बस्तीले अग्रता लिएको थियो। ५७औं मिनेटमा भूपालसिंह गुरुङले पेनाल्टीको सदुपयोग गर्दा मध्यपुर खेलमा फर्किएको थियो। खेल सकिन ११ मिनेट बाँकी हुँदा अवय धमलाले गरेको गोल नयाँ बस्तीलाई स्पष्ट ३ अंक जोड्न पर्याप्त बनेको थियो । १२ क्लब सहभागी लिगबाट शीर्ष एक टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ भने अंकतालिकाको पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App