२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

सम्मानित गाैरिका सिंह र मन्देकाजी श्रेष्ठ। तस्बिर: नागरिक

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।  

भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआइपिएले सागमा गरेको प्रदर्शनका आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो। गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रूपैयाँ प्राप्त गरे।  

यस्तै एनएनआइपिएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआइपिए स्पोर्ट्स अवार्डअन्तर्गत प्रतिभावान् खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगीता धामी एनएनआइपिए स्पोर्टस अवार्डअन्तर्गत उदीयमान खेलाडी चुनिए। 

आयशा र सुजलले युएसए एभरेस्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रूपैयाँ प्राप्त गरे। पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगीताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रूपैयाँ प्राप्त गरे।यस्तै १५औं संस्करण अवार्डमा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका समाचार संयोजक रोशनसिंह राउतलाई संघले एनएनआइपिए पत्रकारिता सम्मानबाट पुरस्कृत गरेको छ।

राउतले सम्मानपत्रसहित २५ हजार रूपैयाँ प्राप्त गरे।विगतका वर्षमा झैं करातेका वरिष्ठ प्रशिक्षक अकबर शाहलाई संघले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ। सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटकपटक राष्ट्रिय कराते टोली सम्हालेका थिए। 

सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो।शाह १९९४ को १२औं वल्र्ड च्याम्पियनसिप, १९९७ मा मनिलामा भएको करातेको छैंटौ विश्वकप, १९९८ बैंकक एसियन गेम्स, कोरियामा भएको १४औं र १७औं एसियाली खेलकुद र हङकङमा भएको १२औं एपिएसके च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक थिए।

अघिल्लो वर्ष नेपालमा सम्पन्न साग खेलमा सहभागिता जनाएका २६ खेलका उत्कृष्ट खेलाडी पनि अवार्ड कार्यक्रममा पुरस्कृत भएका थिए। मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्डमा २६ खेलका उत्कृष्ट खेलाडीले नगद १० हजार रूपैयाँ प्राप्त गरे।

प्रकाशित: ९ फाल्गुन २०७७ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App