१६ चैत्र २०८० शुक्रबार
खेल

पिएम कप क्रिकेट: एपिएफले प्रदेश–१ लाई हरायो

प्रदेश १ विरुद्व ब्याटिङ गर्दै एपिएफका शरद भेषवाकर। तस्बिर/नागरिक

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेल्दा शनिबार विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ सय ३५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा एपिएफले प्रदेश १ लाई १ सय ३५ रनले हराउँदै विजयी सुरुआत गरेको हो। २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ खुलेर ब्याटिङ गर्न सकेन। एपिएफका बलर सामु प्रदेश १ निरीह बन्न पुग्यो। ओपनर दीपक पासवान र मिनास थापाले क्रमशः १३ र १८ जोडे। फिर्दोस अन्सारीले १७ रनको पारी खेल्दा दीपेश कँडेलले १६ र जोशक खड्काले अविजित १२ रन बनाए। प्रदेश १ का ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।  

प्रदेश १ लाई सस्तैमा समेट्न अभिनाश बोहराले पाँच विकेट लिए। यस्तै वसन्त रेग्मीले दुई तथा कप्तान शरद भेषवाकर र किशोर महतोले एक/एक विकेट हात पारे। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन जोडेको थियो। एपिएफका आसिफ शेख र सुवास खकुरेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे। आसिफले ५९ रनको अर्धशतकीय इनिङ खेले। आक्रामक ब्याटिङ गरेका आसिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

आसिफलाई साथ दिएका सुवासले ४१ बलमा १९ रन जोडे। कप्तान शरद भेषवाकरले ३९ बलको समाना गर्दै २० रन जोडे। प्रदीप ऐरीले ७ रन बनाए। यस्तै सुमित महर्जन २० बलमा एक चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन जोडे। वसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्कीले ७, कमल ऐरीले ५, किशोर महतोले १९ रनको पारी खेले।  

प्रदेश १ का दीपेश कँडेलले १० ओभरमा एक मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए। यस्तै हेमन्त राईले १० ओभरमा एक मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए। श्रावण यादवले पनि ६ ओभरमा २६ रन दिएर दुई विकेट हात पारे। प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुने छन्। मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्दा कीर्तिपुरस्थित त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ४ माघ २०७७ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App