१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एनएसजेएफको रजत वर्ष: १७औं संस्करणको अवार्ड नै उत्सव

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले स्थापनाको २५औं वर्ष मनाउने क्रममा मंगलबार पल्सर स्पोर्टस अवार्डको १७औं संस्करणलाई भव्यताका साथ आयोजना गर्दै छ। कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको मञ्चले जनाएको छ। महामारीको जोखिमका कारण अवार्ड भर्चुअल स्वरूपमा हुँदै छ।  

उक्त अवार्ड ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ। कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने भएकाले अवार्ड सेमी भर्चुअलमा हुन लागेको हो। यस अघि हजारौं खेलप्रेमीका माझ हुने अवार्ड यस पटक भने सीमित मानिसको उपस्थितिमा आयोजना गरिँदै छ। खेलकुद पत्रकारितालाई व्यावसायिक र संगठित रूपमा अघि बढाउने उद्देश्यले वि.सं.२०५२ साल भदौ २५ गते मञ्चको स्थापना भएको थियो। कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन नपाएकोसमेत जनाएको छ।  

खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम सुरुआत गरेको थियो। सुरुआतका केही वर्ष आयोजना गरे पनि यसले नियमितता पाउन भने सकेको थिएन। वि.सं. २०६० सालमा अवार्डले निरन्तरता पाउँदा २०७२ सालको विनाशकारी भूकम्पका कारण अवार्ड आयोजना हुन सकेन ।

‘विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीका कारण यस वर्ष पनि सहज थिएन, तर घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि ठूलो खेलमहोत्सव १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको उपलब्धिका कारण संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्नुको विकल्प थिएन,’मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको मात्र उपस्थिति रहनेछ। उक्त अवार्ड एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभीबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ।

साथै एनएसजेएफको युट्युब च्यानल र त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने भएको छ भने जुममार्फत सहभागिता तय गरिएको छ। कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ।  

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ। वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन्। पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरूणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन सोमबार राती १२ बजेसम्म मात्र ई–सेवामार्फत गर्न सकिनेछ।

त्यस्तै फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत पनि उक्त विधामा गणना हुनेछन्। पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट,टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिनेछ।

त्यस्तै वर्षका पुरुष र महिला खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अवार्डमा पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान पनि रहेको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट फ्याम्पर प्रदान गरिनेछ। पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ।

प्रकाशित: २८ पुस २०७७ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App