६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

गौतम बुद्ध ट्वान्टी–२० कप क्रिकेटः राप्तीको रोमाञ्चक जित

कुशल भुर्तेलको अर्धशतकीय पारी र कमलसिंह ऐरीको अनुशासित ब्याटिङप्रेरित राप्ती सोमबार नारायणीलाई एक विकेटले स्तब्ध बनाउँदै शतप्रतिशत जितका साथ गौतम बुद्ध ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छ।

१ सय ३९ रनको मध्यम लक्ष्य राप्तीले ९ विकेट गुमाएर निर्धारित २० ओभर सकिन एक बल बाँकी छँदा पूरा गरेसँगै समूहमा शतप्रतिशत जितका साथ उपाधिका लागि आफूलाई तयार गरेको हो। तीन टोली सम्मिलित प्रतियोगितामा बागमतीले आइतबार दोस्रो हार बेहोरेसँगै राप्ती र नारायणीबीच उपाधि भिडन्त तय भइसकेको थियो। तर, सोमबार समूहको अन्तिम खेलमा राप्ती र नारायणीबीचको खेल बाँकी थियो, जसमा राप्तीले रोमाञ्चक जित हासिल गर्दै मंगलबार हुने फाइनलमा दाबेदारीसमेत प्रस्तुत गरेको छ। निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राप्तीका कुशलले सर्वाधिक ६५ रन बनाउँदै इनिङ समालेका थिए।  

यस क्रममा उनले ४१ बलमा चार चौका र ६ छक्का प्रहार गरे। आठौं नम्बरमा ब्याटिङ गर्न आएका कमल ऐरीले १५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित २४ रन बनाए। आसिफ शेखले १४ रन र सुमित महर्जनले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन नै बटुल्न सकेनन्। राप्तीले इनिङ सुरुआतको पहिलो बलमै ओपनर अमित श्रेष्ठलाई शून्यमै गुमाउन पुग्यो। एक छेउबाट विकेट पतन भए पनि अर्का ओपनर कुशलले इनिङ समालेका थिए।

११औं ओभरको अन्तिम बलमा कुशल तेस्रो विकेटका रूपमा आउट भएपछि राप्तीको रन गति रोकिएको थियो। कुशल आउट भएपछि राप्तीसँग सात विकेट बाँकी छँदा जितका लागि ४३ रन आवश्यक थियो। तर, राप्तीले खातामा थप १२ रन जोड्दा सुमित महर्जन, हरि चौहान, भुवन कार्की र कप्तान विनोद भण्डारीसहित चार विकेट गुमाएसँगै नारायणीले खेलमा पकड जमाएको थियो। तर, कमलसिंहले एक छेउबाट इनिङ समाल्दा अर्को छेउबाट जितेन्द्र मुखिया र अविनाश बोहरा आउट भएपछि राप्तीसँग एक विकेट मात्र थियो।

तथापि, पुछारका ब्याट्सम्यान सूर्य तामाङले क्रिजमा जम्दै कमललाई साथ दिए। राप्तीलाई जितका लागि अन्तिम दुई ओभरमा १९ रन आवश्यक थियो। कमलले करन केसीको १९औं ओभरमा एक छक्का र दुई चौका प्रहार गर्दै राप्तीलाई जितनजिक पुर्‍याएका थिए। तर, अन्तिम ओभरमा ४ रन आवश्यक हुँदा नारायणीका तीव्र गतिका बलर दीपेश श्रेष्ठले पहिलो चार बलमा २ रन मात्र खर्चिंदै खेललाई रोमाञ्चक स्थितिमा पुर्‍याए। दीपेशले पाँचौं बल डट बल फाले पनि अन्तिम बलमा नो बल गरेपछि राप्तीलाई राहत मिलेको थियो।

तर, अन्तिम बलमा ऐरीले १ रन लिँदै राप्तीलाई रोमाञ्चक जित दिलाए। नारायणीको बलिङ करनले चार ओभरमा एक मेडन राख्दै २४ रन खर्चिएर तीन विकेट लिए। किशोर महतो र सुशन भारीले समान २ विकेट लिँदा दीपेश श्रेष्ठले एक विकेट निकाले। निकै किफायती बलिङ गरेका शाहब आलमले चार ओभरमा दुई मेडनसहित ६ रन मात्र खर्चिएर एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो।  

नारायणीले पनि निकै खराब सुरुआत गर्दा २.१ ओभरमा ओपनर राजु रिजाल शून्यमा र सन्दीप जोरालाई १ रनमा गुमाउन पुग्यो। नारायणीले लगातार विकेट गुमाउँदा ७ विकेटको पतनमा ७९ रन मात्र जोडको थियो। आठौं विकेटका लागि करण र किशोर महतोले ५९ रनको साझेदारी गर्दै नारायणीको इनिङलाई मध्यम योगफलतर्फ अगाडि बढाएका थिए। किशोरले नटआउट ३६ रन र करनले ३२ रन बनाएका थिए। किशोरले १४ बलमा २ चौका र ४ छक्का हिर्काउँदा करनले २२ बलमा तीन छक्का र एक चौका प्रहार गरे। राप्तीको बलिङमा सूर्य र अविनाश बोहराले समान २ विकेट लिँदा जितेन्द्र मुखिया, कमलसिंह र भुवन कार्कीले समान एक विकेट निकालेका थिए।

प्रकाशित: ३० मंसिर २०७७ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App