६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एन्फा र एपिएफबीच सहकार्यः फुटबल एकेडेमी सञ्चालन गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल एपिएफ स्कुलबीच फुटबल एकेडेमी सञ्चालन गर्न ६ वर्षे सम्झौता भएको छ।

एक कार्यक्रमकाबीच मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सशस्त्र प्रहरी बल(एपिएफ)का एआइजी पुष्पराम केसीबीच सम्झौता भएसँगै पहिलो पटक विभागले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको हो। एन्फा र एपिएफको संयुक्त प्रयासमा नेपाल एपिएफ स्कुल फुटबल एकेडेमीमा युवा फुटबलर उत्पादनमा हुनेछन्। यी दुई पक्षबीच संयुक्त रूपमा शिक्षा र व्यावसायिक फुटबल करियरलाई पनि माथि उठाउन सम्झौता भएको छ।

सम्झौताअनुसार एन्फा र एपिएफले संयुक्त रूपमै युवा खेलाडीलाई सेवासुबिधा प्रदान गर्नेछ। एन्फाकै टेक्निकल टोलीबाट एकेडमीमा कुल २१ खेलाडी छनोट गरिने भएको छ, जसमध्ये एन्फा र एपिएफले समान ७/७ खेलाडीलाई प्रायोजन गर्नेछन्। बाँकी ७ जना भने खुला प्रतिस्पर्धाबाट छनोट हुनेछन्।  

एकेडेमीमा रहेका खेलाडीले १२ कक्षा पास नगेरसम्म दुवै पक्षले उनीहरूको शिक्षाका लागि खर्च गर्नेछन्। एन्फाका प्रशिक्षकबाट १३–१४ वर्ष उमेरसमूहका खेलाडी एकेडेमीका लागि छनोट हुनेछन्। आगामी वर्षको शैक्षिक सत्रबाट नै एकेडेमी सुरु हुनेछ। सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले एपिएफ स्कुलले एन्फासँग सहकार्य गर्न पाउन खुसीको क्षण रहेको बताउँदै राष्ट्रका लागि क्षमतावान् खेलाडी उत्पादनमा एन्फासँग हातमा हात मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

एकेडेमीका लागि वर्षको अनुमानित १० लाख ५० हजार रूपैयाँ खर्च हुने एन्फा अध्यक्ष कर्माछिरिङले जानकारी दिए। अध्यक्ष शेर्पाले फिफा तथा एएफसीको क्लब ‘ए’ लाइसेन्स प्राप्त गर्नका लागि पनि पनि यो युथ कार्यक्रमले मद्दत पुग्ने बताएका छन्। एपिएफ सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबसमेत हो। गत सिजन एपिएफले रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि रहँदै लिग टुंग्याएको थियो।

प्रकाशित: २४ मंसिर २०७७ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App