१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मुवाथाईलाई देशव्यापी बनाउने चाहना

आफ्ना दाजुभाइ घरनजिकैको मैदानमा फुटबल खेल्न जाँदा रमा राईलाई पनि खेलौंखेलौं लाग्थ्यो। खेलकुदप्रति रुचि भए पनि परिवारले के भन्ला भन्ने डर थियो उनमा। यही डरकै बीच उनले एक दिन बुबाआमालाई फुटबल खेल्न जान्छु भनिन्। उनका अविभावकले प्रस्तावमा सहमति जनाउँदा उनको इच्छाले सार्थक रूप लियो।  

विद्यालयमा पनि उनले फुटबलसँग अन्य खेलकुद गतिविधिमा पनि सहभागिता जनाउँदै आएकी थिइन्। यसै क्रममा विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सहभागी हुन उनी सिक्किम जान्थिन्। खेलकुदसँगै सामाजिक कार्यमा समेत लागेकी रमाले २०१५ मा एउटा सांगीतिक कार्यक्रममा जाँदा भारतका मुवाथाई प्रशिक्षक आरबी राईसँग भेट भयो। त्यसपछि भने रमा थाइल्यान्डको राष्ट्रिय खेलप्रति आकर्षित भइन्।

‘कार्यक्रममका क्रममा मेरो भेट प्रशिक्षक आरबी राईसँग भयो। उहाँले मुवाथाई खेलमा लाग्न भन्नुभयो,’ रमाले सम्झिइन्, ‘मैले सोचेर मात्र जबाफ दिन्छु भनेर फर्किएँ। मार्सल आर्ट्सका अन्य विधाको बारेमा थाहा भए पनि मलाई यो खेलको बारेमा केही थाहा थिएन। आरबी सरले पनि यस खेलको बारेमा बताउनुभएको थियो। उहाँले मुवाथाई खेल मार्सल आर्ट्सका अन्य विधा बक्सिङ, कराते, जुडो र तेक्वान्दो सबैको कम्बो भएको बताउनुभएको थियो। डरका बीच मैले मुवाथाईको प्रशिक्षण सुरु गर्ने निर्णय गर्दै आरबी सरसँग प्रशिक्षणका लागि सिक्किम गएँ। त्यहाँ केही समयपछि प्रशिक्षण गर्नुका साथै मैले २०१५ र २०१६ मा भारतमा भएको राष्ट्रियव्यापी मुवाथाई प्रतियोगितमा सहभागिता जनाए। दुवै संस्करणमा मैले रजत पदक जिते। त्यसपछि मेरो आत्मविश्वास पनि बढ्यो।’

प्रतियोगितमा हात पारेको सफलतापछि हौसिएकी रमा आफ्नो जिल्लामा पनि यस खेलको सुरु गर्ने जमर्को कस्दै नेपाल फर्किइन्। ‘सेल्फ डिफेन्सका रूपमा लिइएको यस खेलले तपाईंलाई अनुशासित बनाउनुका साथै आत्मविश्वासीसमेत बनाउँछ,’ रमाले भनिन्, ‘विदेशमा हुने प्रतियोगितमा सहभागी हुनु मात्र पनि यो खेलको सफलता होइन।’  

नेपालमा मुवाथाई अझै लोकप्रिय बन्न नसकिरहेको उनको भनाइ छ। ‘विद्यालयस्तरबाटै कराते, बक्सिङ र तेक्वान्दोजस्तैै यस खेलको पनि प्रशिक्षण दिन सुरु गर्नुपर्छ,’ रमाले भनिन्, ‘यस खेलका लागि सरकारका साथै निजी स्तरबाट पनि दरिलो साथ र सहयोग हुनुपर्छ।’

‘केन्द्रमा भन्दा पनि जिल्लामा पनि यो खेलको सुरुआत गर्नुपर्छ भनेर मैले आफैले प्रशिक्षण दिन सुरु गरें। सुरुआती दिनमा मलाई यस खेलमा प्रशिक्षार्थी ल्याउन समेत मुस्किल थियो,’ रमाले भनिन्, ‘खेलाडीलाई यो खेलको बारेमा सम्झाउन निकै कठिन थियो। यसबीच मेरो प्रशिक्षणमा अहिले दैनिक महिला र पुरुष गरी कुल १ सय ५० जना खेलाडीले प्रशिक्षण गर्छन्। हामीले गत वर्ष असारमा प्रदेश १ मा पहिलो पटक मुवाथाई प्रतियोगिता आयोजना गर्‍यौं। पहिलो प्रयासबाट हामी थप उत्साही बन्यौं। यस वर्ष पनि हामी प्रतियोगितालाई निरन्तरता दिने सोचमा छौं। यद्यपि कोरोना भाइरसको महामारीका कारण हामीले प्रतियोगिताको मिति घोषणा गर्न सकिरहेका छैनौं। आशा छ हामी छिट्टै स्वाभाविक दैनिकीमा फर्कनेछौं। 

प्रकाशित: २१ मंसिर २०७७ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App