नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले पूर्वकप्तान विराज महर्जन र स्ट्राइकर विमल घर्तिमगरसहित ५८ जना फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
प्रशिक्षक महर्जनले फिफा विश्वकप २०२२ र एएफसी एसियन कपका लागि छनोट खेलअन्तर्गत पूर्वकप्तान विराज र स्ट्राइकर विमलसहित ५८ जना फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । यसअघि बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा आशातीत प्रदर्शन गर्न नसकेपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय टोलीमा सुधार गर्ने उद्देश्यअनुरूप ५८ जनालाई प्रारम्भिक प्रशिक्षणमा बोलाइएको बुझिएको छ । जसमध्ये करिब ढेड वर्षदेखि राष्ट्रिय टोली बाहिर रहेका पूर्वकप्तान विराज र अनुशासन उल्लंघनको कारबाही बेहोरेका विमल घर्तिमगरलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंसिर २८ देखि बन्द प्रशिक्षण सुरु हुनेछ ।
विदेशी प्रशिक्षक योहान कालिनले जिम्मेवारी समालेपछि फिटनेसका कारण भन्दै विराजलाई राष्ट्रिय टोली बाहिर राख्दै आएका थिए । तर, यसपटक बन्द प्रशिक्षणमा बोलाइएपछि विराजको राष्ट्रिय टोलीमा पुनरागमनको बाटो खुला भएको छ । एन्फाले आदित्य चौधरी, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई पनि प्रशिक्षणमा बोलाएको छ । आदित्य चोटका कारण पनि करिब तीन वर्षदेखि राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए भने सन्तोष र दिनेश पनि एन्फाको अनुशासन कारबाहीमा परेका थिए । यता, भरपर्दा मिडफिल्डर विक्रम लामाले भने चोटको कारण बन्द प्रशिक्षण गुमाउने भएका छन् ।
बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलमा सहभागी २४ खेलाडीसहित थप खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ । यी खेलाडीहरू एन्फा एकेडेमीकै होस्टेलमा रहेर बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । कोरोना भाइरसको महामारी पैmलिएसँगै आफ्नो देश स्वीडेन फर्किएका कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले राष्ट्रिय टोलीको जिम्मेवारी समालिरहेका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाल बालगोपालको प्रशिक्षणमा उत्रिएको थियो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ ।
प्रकाशित: १८ मंसिर २०७७ ०३:०४ बिहीबार