१३ आश्विन २०७८ बुधबार
खेल

खेलाडी र प्रशिक्षणमा पनि अब्बल

खेलाडीका साथमा करातेका पूर्वराष्ट्रिय खेलाडी एवम् राष्ट्रिय टोलीका वर्तमान प्रशिक्षक कुशल श्रेष्ठ (बीच) । तस्बिर: नागरिक

‘गुरुले चेला बनाउन चाहि खोज्ने, तर आफ्नो उत्तराधिकारीका रूपमा उसलाई विकास गर्न नचाहने परिपाटीका कारण पनि खेलकुदले सोचेअनुरूप फड्को मार्न सकिरहेको छैन।’ उक्त भनाइ हो नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठको।

नेपालका ऐतिहासिक पदकविजेता खेलाडीको पलायन र नेपाली खेलकुदले सोचेअनुरूप किन फड्को मार्न सकिरहेको छैन भन्ने प्रश्नमा राष्ट्रिय पूर्वखेलाडी कुशलका प्रतिक्रिया हुन् यी। कुशल दशौं सागका स्वर्ण विजेता हुन्, जो एक समय नेपाली करातेका राम्रा खेलाडी थिए। कुशलले प्रशिक्षकका रूपमा पनि आफूलाई साबित गरिसकेका छन्। उनै कुशलले हाल राष्ट्रिय टोलीको प्रशिक्षण समालिरहेका छन् र सफलता पनि उनीसँगै जोडिएका छन्। २० वर्षपछि नेपालमा सागको १३औं संस्करण आयोजना हुँदा कराते नेपालका लागि सर्वाधिक स्वर्ण पदक दिलाउने दोस्रो खेल थियो, जहाँ प्रशिक्षक कुशलको भूमिका पनि अहम् रह्यो।

सोही सफलताका आधारमा पनि उनलाई युवा तथा खेलकुद मन्त्रालयले गत कात्तिकमा प्रशिक्षकततर्फ राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो। उनी विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते महासंघ (एकेएफ) को लाइसेन्स प्राप्त प्रशिक्षकसमेत हुन्। उनै कुशल पछिल्लो समय नेपालमा मार्सल  

आटर््सलगायत अन्य खेलको तुलनात्मक रूपमा प्रदर्शन किन घटिरहेको छ भन्ने प्रश्नमा राज्यको न्यून लगानी, राष्ट्रिय टोलीका लागि राम्रो ब्याकअप बन्न नसक्नु (युथ टोलीको विकास) र पुस्ता हस्तान्तरणलगायत रहेको बताउँछन्। दशकौंदेखि प्रशिक्षणबाट अनुभव बटुलेका राम्रा प्रशिक्षक पछिल्ला समय धमाधम रिटायर्ड भइरहेका छन्।

तर, उनीहरूबाट राम्रा खेलाडीलाई प्रशिक्षकका रूपमा विकास गर्न नसक्दा खेलकुद पुनः शून्य अवस्थाबाट सुरु हुने त होइन भन्ने कुशलको चिन्ता छ। दशौं सागका स्वर्णविजेता कुशलले खेलाडी जीवनमा देशलाई कयौं सफलता दिलाए। उनले प्रशिक्षकका भूमिकाबाट नेपाली खेलकुुदमा उस्तै योगदान दिएका छन्। एउटा राम्रो खेलाडी राम्रो प्रशिक्षक बन्न सक्छन् नै भन्ने छैन, त्यसका लागि सिनियर प्रशिक्षकबाट उनीहरूले मार्गदर्शन पाए मात्र खेलकुदले फड्को मार्न सक्छ। एउटा राम्रो खेलाडीले प्रशिक्षकका रूपमा आफूलाई विकास गर्न चाहे पनि गुरुको मार्गदर्शन नहुँदा खेलकुदले चाहे जति विकास गर्न नसकेकोमा उसको दुखेसो छ।  

कुनै पनि जिम्मेवारीबाट राम्रो नतिजा आएन भने त्यसमा बसिरहन उनी रुचाउँदैनन्। १३औं सागको आयोजना नजिकिँदै जाँदा कुशलको एउटा संकल्प थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको कार्यक्रममै उनले भनेका थिए, ‘आठौं सागपछिको सबैभन्दा राम्रो नतिजा ल्याउँछु। १३औं सागमा राम्रो गर्न सकिनँ भने प्रशिक्षक पद नै त्याग्छु।’ उनको त्यस किसिमको भनाइले पनि स्पष्ट हुन्थ्यो, यदि नतिजा आएन भने पदमा बसिरहनु खेलकुदको भविष्यमाथि खेलबाड गर्नु हो। १५औैं र १६औं एसियाड खेलेका कुशलले सन् २००६ मा श्रीलंकामा सम्पन्न दशौं सागमा स्वर्ण जितेपछि सरकारले राखेपमा प्रशिक्षकको जागिर दिएको थियो।

१६औं एसियाडमा कुशलले आफ्नै जीवनसंगिनी तारा गुरुङसँगै प्रतिस्पर्धा गरेका थिए, तारा पनि गत १३औं सागकी प्रशिक्षकसमेत हुन्। दुवै जना खेलकुदका भएकाले पनि आफूलाई कराते प्रशिक्षणमै समर्पित हुन सहज हुने गरेको कुशलको भनाइ छ। ६ वर्षअगाडि खेलाडी जीवन टुङ्ग्याएपछि उनी पूर्णकालीन रूपमा प्रशिक्षणतर्फ  लागेका थिए। यसबीच उनले बानेश्वरमा देउराली डोजो र विभिन्न विद्यालयमामार्फत  खेलाडी प्रशिक्षण गर्न थाले। खेल्नु र प्रशिक्षण गराउनु दुवै आफ्ना लागि महत्वपूर्ण  रहँदै आएको कुशल बताउँछन्। प्रशिक्षणमा कुशलको लगाब भएर नै होला उनी प्रशिक्षकहरूको हरेक परीक्षामा पनि उत्कृष्ट हुने गर्दछन्।  

राखेपले सञ्चालन गरेको एनआइएस प्रशिक्षक परीक्षामा उनी करातेतर्पm पहिलो भएका थिए। नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले वि.सं.२०७२ मा राष्ट्रिय टिमलाई लक्षित गरेर सञ्चालित एड्भान्स कोचिङ कोर्स फर इलाइट कोचेज कोर्समा कुल २५ खेलका ७० जना राष्ट्रिय प्रशिक्षकको सहभागिता थियो, जसमा कुशल पहिलो भएका थिए। त्यसपश्चात् उनलाई राष्ट्रिय टोलीमा प्रशिक्षण गराउने अवसर दिइएको थियो। 

तत्कालीन सदस्यसचिव युवराज लामाले राष्ट्रिय टोलीलाई बाह्रै महिना प्रशिक्षण गराउने निर्णय गरेपछि कुशलले पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण जिम्मेवारी पाएका थिए। त्यसयता उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो सफलता पाइरहेको छ। राष्ट्रिय टोलीबाट बचेको समय उनी विभिन्न सामुदायिक विद्यालय र देउराली डोजोमा प्रशिक्षण गराउने गर्छन्। ‘राष्ट्रिय प्रतिभा विद्यालय र डोजोबाटै जन्मने हुन्। म आफै पनि देशको एउटा कुनाबाट आएको हुँ। मैले पनि खेल्ने अवसर नपाएको भए, यहाँसम्म आइपुग्दैनथेँ होला। त्यसैले सामुदायिक विद्यालय र डोजोहरूमा पनि प्रशिक्षण गराउने गरेको छु,’ पूर्वराष्ट्रिय खेलाडी कुशल भन्छन्। कुशलले सन् २०१४ सम्म डब्लुकेएफका प्रतियोगितामा खेलेका थिए।  

कुशलले खेल्न छोडेको ६ वर्ष भइसकेको छ, तर अहिलेसम्म पनि नेपालका लागि डब्लुकेएफका सर्वाधिक प्रतियोगिता खेल्ने उनी नै छन्। ‘मैले खेल्न छाडेको ६ वर्ष बितिसकेको छ, अझै पनि डब्लुकेएफको धेरै प्रतियोगिता खेल्ने नेपाली खेलाडी म नै रहेछु। यसबाटै प्रस्ट हुन्छ खेलाडीले राम्रो एक्सपोजर पाएका छैनन् र राज्यले पनि कम लगानी गरिरहेको छ,’ कुशलले भने, ‘एकै पटक नतिजा खोजेर मात्र हुँदैन।’ अन्तर्राष्ट्रिय स्तरमा नेपालको नतिजा सुधार गर्न राष्ट्रिय टोलीका ब्याकअपका रूपमा उमेरसमूहको टोली आवश्यक हुने उनी बताउँछन्।

साथै प्रशिक्षकहरूका लागि पनि अपग्रेड हुने माध्यम सिर्जना गर्नुपर्ने आवश्यकता उनले औंल्याए। ‘हरेक वर्ष नियमहरू परिवर्तन भइरहेका हुन्छन् र वैज्ञानिक तवरबाट खेल्नै शैली अगाडि बढिरहेको छन्। तर आर्थिक अभावका कारण हाम्रा प्रशिक्षक सबैले त्यस किसिमका रिफ्रेसर या एक्सपोजर पाउँदैनन्। त्यसैले पनि अन्तर्राष्ट्रियस्तरमा हामीले आशा गरेअनुरूप नतिजा आउन सक्दैन,’ कुशल भन्छन्। दक्षिण एसियाली खेलकुदमा फाइट र काता दुवैमा पदक जित्ने कराते खेलाडी हुन् उनी। सागमा उनले एक स्वर्ण, एक रजत र दुई कांस्य जितेका छन्। 

उनले छोटो समयमा नै प्रशिक्षकका रूपमा पनि सफलता दिलाएका छन्। १८औं एसियाडको बन्द प्रशिक्षणदेखि नै कुशलले प्रशिक्षण गराए पनि इन्डोनेसियाको प्रतिस्पर्धामा भने उनी मात्र छुटेका थिए। उनकै प्रशिक्षणमा सन् २०१९ मा जापानमा सम्पन्न नवौं सितोरियो विश्व कराते  च्याम्पियनसिपमा दिगम्बरप्रसाद पन्तले एक रजत र विजय श्रेष्ठले कांस्य प्राप्त गरेका थिए। गत वर्ष बंगलादेशमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण, पाँच रजत र १० कांस्य जित्दा कुशलले नेपाली टोलीलाई प्रशिक्षण गराएका थिए। खेलकुद विज्ञान प्रतिष्ठानले सन् २०१८ को राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई युथ टोलीको प्रशिक्षण सुरु गराउँदा कुशललाई जिम्मेवारी दिएको थियो, जसमा एक खेलाडी अनिश लामाले राष्ट्रिय टोलीमा स्थान बनाउँदा थप खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनै अनिशले एसियन प्यासिफिक सितोरियो करातेमा पनि पदक जितिसकेका छन्। प्रशिक्षक कुशलले आफ्नो प्रशिक्षणमा भएका धेरैजसो अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक दिलाउन सफल भएका छन्।  

कुशलको यात्रा

धनकुटाबाटै करातेमा खेल यात्रा सुरु गरेका उनले सिक्ने र अरूलाई पनि सिकाउने गर्थे। कुशलले २०५०–०५१ सालतिर दाइसँगै कराते खेल्न सुरु गरेका थिए। दुब्लो पातलो शरीरका उनलाई सुरुआती चरणमा घरबाट कराते खेल्न रोक लगाइएको थियो।

तथापि, कुशलका दाइले संखुवासभामा भएको एउटा प्रतियोगितामा पदक जितेपछि भने उनको इच्छाको अगाडि परिवारको केही सीप चलेन। केही वर्षमै उनले खेल्ने र बाँकी भएको समयमा विकट गाउँको डोजोमा पनि सिकाउने गर्दथे। धनकुटाबाट बिए र सिएमएको अध्ययन पूूरा गरेपछि उनी खेल करियरलाई थप उचाइमा पु¥याउन काठमाडौं आए, जहाँ उनले सफलता पनि हात पारे। धनकुटामा निकै मिहिनेत गरेका कारण नै खेलमा सफलता प्राप्त गरेको उनी बताउँछन्।

‘बिहान कलेज जानुअघि नै खेल सकाउनुपर्दथ्यो। त्यसैले ५ बजे नै खेल सकाएर कलेज जान्थेँ। बिहानी कलेज सकाएर दिउँसो फेरि कम्युनिटी मेडिसिन एसिस्टेन्ट (सिएमए) अध्ययनका लागि पढ्ने जान्थें र साँझ मेन डोजोमा पनि सिकाउनुपथ्र्यो। जहाँबाट मैले करातेसँगै संघर्ष, धैर्यता र लक्ष्य प्राप्तिका बारे सिकेँ, त्यसैले पनि मलाई राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सहज बनायो,’ कुशल भन्छन्। उनमा करातेप्रति यति धेरै लगाब बसिसकेको थियो कि एसएलसीको परीक्षा आइरहँदा पनि उनी विभिन्न डोजोमा प्रशिक्षण गराउन जान्थे र आफू पनि सिक्थे।  

खेलको सुरुआती चरणदेखि नै कुशलले आफूलाई प्रशिक्षकका रूपमा विकास गराएका थिए। धनकुटा जिल्ला खेलकुद विकास समितिले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम लिएको ६ महिना नै उनले क्षेत्रीय प्रतियोगितामा पदक दिलाएका थिए। त्यसैले उनमा पनि अहिले पनि प्रशिक्षकका भूमिकाबाट पनि सफलता मिलिरहेको छ।

प्रकाशित: १४ मंसिर २०७७ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App