१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोना एट्लेटिकोसँग स्तब्ध

बार्सिलोनालाई १–० ले स्तब्ध पारेसँगै एट्लेटिको मड्रिडले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा बराबरी गरेको छ।

यानिक कारोस्कोले रक्षक जेरार्ड पिके र गोलकिपर मार्क आन्द्रे टर स्टेगनबीच तालमेल अभावको फाइदा उठाउँदै एट्लेटिकोका लागि ३ अंक पक्का गरेका थिए। एट्लेटिकोले पछिल्लो एक दशकमा बार्सिलोनामाथि जित हात पारेको यो नै पहिलो खेल हो। यससँगै ९ खेलमा २० अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ। समान खेलमा समान २० अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ। शनिबारै भएको खेलमा रियाल मड्रिडलाई १–१ को बराबरीमा रोकेको भिलारियाल १९ अंकका साथ तेस्रो स्थानमा छ। रियाल मड्रिड भने १७ अंकका साथ चौथो स्थानमा छ भने ग्रानाडा १४ अंकका साथ पाँचौं स्थानमा छ। बार्सिलोना भने ८ खेलमा ११ अंकका साथ १०आैं स्थानमा छ।  

‘अन्य प्रशिक्षकजस्तै, म जिम्मेवार छु,’ बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमानले भने, ‘हामीलाई थाहा छ, हामीले सुधारिएको प्रदर्शन गर्नुपर्छ। मलाई अझै पनि मेरो खेलाडीप्रति पूर्ण विश्वास छ।’

एट्लेटिकोले ला लिगामा अपराजित यात्रा २४ खेलसम्म लम्ब्याएको छ।  

‘आज हामीले जित्यौं तर पनि हाम्रो स्थानमा कुनै परिवर्तन आएको छैन,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘हामीले मिहिनेत गरिरहेका छाैं र म टोलीले यस सिजन गरिरहेको प्रदर्शनबाट ज्यादै उत्साही छु।’

यसअघि रियाल मड्रिड भने भिलारियालसँग अंक बाँड्न बाध्य भएको थियो। खेलको दोस्रो मिनेटमै मारियानो डियाजको गोलमा रियाल मड्रिडले अग्रता लिएको थियो। ७६औं मिनेटमा जेरार्ड मोरिनोको पेनाल्टी गोलमा भिल्लारियाल खेलमा फर्किएका थियो।

‘आज हामीले राम्रै खेलेका थियाैं, यद्यपि नतिजा भने हाम्रो पक्षमा  आएन,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने।

रियालले सबैखाले प्रतियोगिता गरी पछिल्लो ७ खेलमा मात्र ३ खेल जितेको छ। रियालले बुधबार च्याम्पियन्स लिग भिडन्तमा इन्टर मिलानको सामना गर्दै छ।

प्रकाशित: ८ मंसिर २०७७ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App