२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

एस्कोबार काण्डको ३२ वर्षपछि अर्का खेलाडीलाई ज्यान लिने धम्की : टोलीसँगै स्वदेश फर्किएनन् क्याम्पाज

कोलम्बियाली फुटबल महासंघले राष्ट्रिय टोली विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर जामिन्टन क्याम्पाज र उनको परिवारलाई दिइएको ज्यान मार्ने धम्कीको कडा शब्दमा निन्दा गरेको छ।

मंगलबार भएको अन्तिम १६ को खेलमा कोलम्बिया स्विट्जरल्याण्डसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। अतिरिक्त समयमा क्याम्पाजले गोल गर्ने महत्वपूर्ण अवसर गुमाएका थिए। त्यसयता, सामाजिक सञ्जालमा उनलाई लक्षित गरी धम्कीपूर्ण टिप्पणीहरूको ओइरो लागेको छ। सुरक्षा संवेदनशीलताका कारण क्याम्पाज आफ्ना टोलीका साथीहरूसँग स्वदेश फर्किएनन्।

महासंघले विज्ञप्ति जारी गर्दै 'कुनै पनि खेलाडी वा उनीहरूको परिवारलाई देशको प्रतिनिधित्व गरेको आधारमा धम्की दिनु हुँदैन' भनी उल्लेख गरेको छ। यता, क्याम्पाजले इन्स्टाग्राममार्फत भावनात्मक सन्देश लेख्दै भनेका छन्, 'फुटबल कठिन क्षणहरू मिलेर बनेको हुन्छ। मेरो कोलम्बिया, हामी कहिल्यै सम्मानलाई नबिर्सौं। कुनै पनि जोशले घृणा वा डरमा बाँच्नलाई जायज ठहराउँदैन।'

महासंघले महान्यायाधिवक्ताको कार्यालयलाई धम्की दिनेहरूको पहिचान गरी तत्काल कारबाही गर्न आग्रह गरेको छ। 'फुटबल एकता र आशाको ठाउँ हो, घृणा वा हिंसाको होइन' भन्दै महासंघले समर्थकहरूलाई संयमित हुन अपिल गरेको छ।

यी धम्कीहरूले सन् १९९४ को विश्वकपको कालो अध्यायलाई स्मरण गराएको छ। त्यतिबेला आत्मघाती गोल गरेका डिफेन्डर एन्ड्रेस एस्कोबारको स्वदेश फर्किएपछि हत्या भएको थियो। उक्त दुखद घटनाको ३२ वर्षपछि पुनः यस्तो धम्की आएको हो।

महासंघले स्पष्ट पार्दै भनेको छ, 'हाम्रा खेलाडीले अनुशासन, प्रतिबद्धता र देशप्रतिको प्रेमका साथ जर्सी लगाउँछन्। उनीहरूको सुरक्षा गर्नु भनेको खेलकुदको मूल्य र राष्ट्रिय गौरवको रक्षा गर्नु पनि हो।'

यो प्रतियोगितामा कोलम्बिया पहिलो पटक पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो। यसअघि उनीहरूले घानालाई हराउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। क्याम्पाजले यस प्रतियोगितामा तीन खेल खेल्दै एक गोल गरेका थिए। एजेन्सी 

प्रकाशित: २७ असार २०८३ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App