१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नामै फेरेर प्रशिक्षण

होचो कद र कम तौल। सानैदेखि खेलमा तेक्वान्दो र उसुमा रुचि भए पनि साथीभाइले समेत होच्याउने भएकाले गणेशलाल कक्षपतिले रहर हुँदा पनि ती खेलका प्रशिक्षणमा सहभागी हुन पाएनन्। उनलाई साथीहरू फुच्चे, नसे भनेर गिज्याउने गर्दथे। विद्यालयका सहपाठी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तथा  विभिन्न डोजाङमा प्रशिक्षणका लागि पुग्थे। गणेशलाल भने उनीहरूको पछि लाग्थे। उनलाई पनि प्रशिक्षण लिएर खेल्ने रहर भने नभएको होइन।  

तर उनका अभिभावकसामु पटकपटक मार्सल आर्टमा भर्ना गरिदिन आग्रह गरे पनि उनले त्यसको अनुमति पाएनन्। परिवारको चाहना थियो– छोराले राम्रो शिक्षा हात पारोस् र गतिलो जागिर खाओस्। सानैदेखि आफ्ना दाइ रमेशलाल कक्षपतिको खेल हेरेका गणेशलालको पनि इच्छा थियो सेतो गी र त्यसमाथि बेल्ट बाँधेर किक हान्ने। वि.सं. २०५१ मा एसएलसीको परीक्षा दिएपछि गणेशलालको यो रहर पूरा भयो।

‘दाइले धेरै पटक भर्ना गरिदिन्छु भन्दै पन्छाउनुभयो। साथी गौतम महर्जनले क्योकुसिन कराते राम्रो हुन्छ भन्दै केन्द्रीय डोजो पु¥याए। त्यहाँ गुरु जगत गौचन, काजीमान श्रेष्ठ र भगीरथ राईको प्रशिक्षण दिन्थे।  विवश कक्षपति भन्ने नाम फेर्दै केन्द्रीय डोजोमा भर्ना त भएँ, तर खेल्नका मसँग लुगा ‘गी’ थिएन’ गणेशलाल सम्झन्छन्, ‘उनै गौतमले व्यवस्था गरिदिएको पुरानो ‘गी’ लगाएर प्रशिक्षणका लागि गएँ, तर केही दिनपछि नै भगीरथ गुरुले थोत्रो र च्यातिएको ‘गी’ मा खेल्न दिन्न भन्दै पठाउनुभयो।’

खेलाडी बन्ने सपना साकार पार्न घरपरिवारलाई थाहा नदिई प्रशिक्षणमा भर्ना भएका गणेशलालले त्यसपछि भने बुबालाई गी किनिदिन भने। यसअघि खेल्छु भन्दा गाली गर्ने बुबाले त्यस दिन भने उनलाई केही भनेनन्। कारण उनका बुबाले छोरोका गतिविधि चाल पाइसकेका थिए।

थाइल्यान्डमा मुवा थाईको व्यवस्थापन र क्रेज देखेपछि गणेशलालले यस खेललाई कसरी नेपालमा भित्र्याउन सकिन्छ भनेर त्यहाँका पदाधिकारीसँग जानकारी लिए। त्यहाँबाट सहयोगको प्रतिबद्धतापछि गणेशलालले  सन् २००८ मा नेपाल राष्ट्रिय मुवा थाई संघ गठन गरे।

‘बुबाले मेरा लागि भोलिपल्टै गी किनेर ल्याइदिनुभयो। मेरो परिवारबाट मेरो खेलमा समर्थन भयो,’ गणेशलालले भने, ‘मेरो हौसला बढेको थियो। मैले जुत्ताको होलसेलमा समेत काम गर्न थालेको थिएँ। मैले प्रशिक्षणसँगै काम पनि अघि बढाएँ। यसबीचमा विभिन्न प्रतियोगिता खेलें । मैले २०५४ सालमा ब्ल्याक बेल्ट लिएँ। प्रशिक्षण, काम र पढाइका लागि समय मिलाउन हम्मे परेपछि एक–डेढ वर्ष खेलबाट विश्राम लिएँ।’

‘त्यसपछि हिकोला कलर ल्याबमा काम थालें। इन्टर पास भइसकेको र हिकोला कलर ल्याबमा बिहान १० देखि बेलुकी ५ बजेसम्म मात्र काम हुने भएकाले मैले पुनः प्रशिक्षण सुरु गरें,’ उनले थपे, ‘राम्रा खेलाडीलाई मात्र ध्यान दिएर छुट्टै प्रशिक्षण गराउने र अन्य खेलाडीलाई औपचारिकताका लागि  समूहमा प्रशिक्षण दिने व्यवस्थाले निरन्तरता पाइरहेको थियो। एक साता बिरामी भएर प्रशिक्षणका लागि म गइनँ। त्यसपछि मलाई छुट्टै बसेर अभ्यास गर भनियो। हेपिएको महसुस भएपछि खेल्न छोडें।’  

खेल्ने अवसर नपाएपछि भने गणेशलालले राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यले कीर्तिपुरमा क्योकुसिन कराते डोजो खोले। गणेशलालले २०५८ सालमा जेवी आले क्योकुसिन कराते प्रतियोगिता आयोजना गरे। २०६० सालमा सशस्त्र प्रहरी बलका तत्कालीन आइजिपी कृष्णमोहन नुडुप श्रेष्ठको स्मृतिमा प्रतियोगिता गरे। प्रतियोगितापछि सबैबाट प्रशंसा पाएका उनी क्योकोसिन बुदोकाई संघको कोषाध्यक्ष एवं सहायक प्रशिक्षक भए।  

नेपालमा मुवा थाईको सुरुआत  

क्योकुसिन करातेका संस्थापक जगत गौचनले बलिया र उत्कृष्ट खेलाडीलाई समयसमयमा प्रशिक्षणका लागि थाइल्यान्ड पठाउने व्यवस्था गरेका थिए। थाइल्याल्ड प्रशिक्षणका लागि गएका खेलाडीले मुवा थाईको बारेमा जान्ने अवसर पाए। नेपालमा यो खेल नौलो थियो। कसैले पनि खेलाउने हिम्मत गरेका थिएनन्।  

‘सेल्फ डिफेन्सका रूपमा लिइएको यो खेल प्रशिक्षण अवसर पाएँ। यसका लागि मुक्तिसंग्राम विष्टको सहयोग थियो,’ गणेशलाल भन्छन्, ‘२०५५ सालतिर बर्माका प्रशिक्षक दीपक श्रेष्ठले निजी क्लबमा मुवा थाई सिकाउने गर्दथे। त्यो बेला क्लबमा सीमित व्यक्तिले मात्र त्यो खेल खेल्न पाउँथे। क्लबमा छिर्न पनि धेरै गारो थियो। यो बलियाबलिया खेलाडीले मात्र खेल्ने खेल भनिन्थ्यो र खेल्न निकेै कठिन थियो। यो अन्डरग्राउन्ड फाइटजस्तो थियो। सबैबाट लुकेर प्रशिक्षण लिनुपर्ने र खेल पनि कसैलाई थाहा नहुने क्लबमा गोप्य रूपमा आयोजना हुने।  मैले पनि सोखका लागि मात्र मुवा थाई सिकें। खेल निकै कठिन थियो। यो गोप्य रूपमा सिकाइन्थो। बाहिर यसरको बारेमा कसैले पनि चाल पाउँदैनथे।’

प्रशिक्षण थालेको केही समयपछि नै गणेशलाल क्लबको पदाधिकारीका रूपमा थाइल्यान्ड गए। त्यहाँ मुवा थाई खेलको व्यवस्थापन र क्रेज देखेपछि गणेशलालले यस खेललाई कसरी नेपालमा भित्र्याउन सकिन्छ भनेर त्यहाँका पदाधिकारीसँग जानकारी लिए। थाइल्यान्डबाट सहयोगको प्रतिबद्धतापछि गणेशलालले  सन् २००८ मा नेपाल राष्ट्रिय मुवा थाई संघ गठन गरे। राखेपमा आधिकारिक रूपमा दर्ता नभए पनि उनी खेलाडी उत्पादनमा केन्द्रित भए।  

‘खेलाडी उत्पादनमा सक्रिय रहँदारहँदै मैले सन् २०१० मा सातांै विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाएँ। सो प्रतियोगितामा ४ जना सहभागी हुने भए पनि अन्तिममा मैले र नवराज भण्डारीले मात्र प्रतिस्पर्धा गरेका थियौं,’ गणेशलालले भने, ‘दीपक गोदार र निर्मल पहारीले भने खेल्न पाएनन्। सन् २०१२  मा नेपाल राष्ट्रिय मुवा थाई संघ राखेपमा आधिकारिक रूपमा दर्ता भयो। क्लबमा मात्र सीमित यो प्रतियोगिताबारे बिस्तारै मानिसहरूले थाहा पाउन थाले। हामीले करिब २ सय खेलाडीलाई नियमित प्रशिक्षण दिन थाल्यांै। यस क्रममा नेपालले थाइल्यान्डमा आयोजना हुने विश्व मुवा थाईमा सहभागिता जनाउँदै आएको छ। मैले  सन् २०१४ मा ‘ए’ श्रेणीको प्रशिक्षक र ट्रेनरको प्रमाणपत्र प्राप्त गरेको थिएँ भने सन् २०१५ मा ‘ए’ श्रेणीको रेफ्रीको पनि प्रमाणपत्र प्राप्त गरें।

‘अहिले विभिन्न क्लबले नेपालमै विदेशी खेलाडी ल्याएर प्रतिस्पर्धा गराउन थालिसके। त्यसैले यो खेलले नेपालमा पनि व्यावसायिक रूपमा फड्को मारिसकेको छ,’ गणेशलाल भन्छन्, ‘यो खेल खेलेका खेलाडीले पनि खेलमा लागेर बाँच्ने आधार बनेको छ। हामीले खेलाडीलाई पारिश्रमिक र नगद पुरस्कार राखेर प्रतियोगिता आयोजना गर्दै आएका छांै। अहिले हाम्रा खेलाडीले विभिन्न क्लबमा स्वदेशीका साथै विदेशीले पनि तालिम दिने गरेका छन्। अहिले विभिन्न क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबमा यो खेलले प्रवेश पाइसकेको छ।’

प्रकाशित: ५ भाद्र २०७७ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App