१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिचले युएस ओपन खेल्ने

विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले यसै महिनाको अन्तिमबाट सुरु हुने युएस ओपन खेल्ने घोषणा गरेका छन्।  

कोरोना भाइरस संक्रमणको त्रास नहटिसकेको भन्दै साबिक विजेता राफेल नाडालले यसअघि नै प्रतियोगिता नखेल्ने बताइसकेका छन् भने पाँच पटकका विजेता रोजर फेडेररले पनि घुँडाको शल्यक्रियाका कारण यस संस्करणमा सहभागिता नजनाउने जानकारी दिइसकेछन्।

‘यो निर्णय लिन त्यति सहज थिएन तर पनि म प्रतियोगिता खेल्ने निर्णयले निकै उत्साही भएको छु,’ जोकोभिचले भने।

एटिपी प्लेयर काउन्सिलका अध्यक्षसमेत रहेका जोकोभिचले प्रतियोगितामा अपनाइने सुरक्षा मापदण्डका बारेमा प्रश्न गर्दै प्रतियोगिता खेल्नेमा दुबिधा भएको बताएका थिए।  

प्रतियोगिता अगस्ट ३१ मा न्युयोर्कमा सुरु हुनेछ। त्यसका लागि ३३ वर्र्षे जोकोभिच १५ अगस्टमा अमेरिका पुगिसक्नेछन्, जहाँ उनले वेस्टर्न एन्ड साउर्थन ओपनमा समेत सहभागिता जनाउनेछन्। कोरोना भाइरसका कारण यी सबै प्रतियोगिता खाली कोर्टमा हुनेछन्। साथै खेलाडीका लागि पनि विभिन्न सुरक्षा तथा स्वास्थ्य निर्देशिका जारी गरिसकिएको छ।  

आयोजकले सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाए पनि नाडालसँगै अस्ट्रेलियाका निक किर्गियोस र महिला विश्व नम्बर एक एस्लेघ बार्टीले प्रतियोगितामा सहभागिता नजनाउने बताइसकेका छन्। यता वाइल्ड कार्ड पाएका पूर्व नम्बर एक एन्डी मुरेले भने प्रतियोगिता खेल्ने अनुमान गरिएको छ।

प्रकाशित: ३० श्रावण २०७७ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App