३ आश्विन २०७७ शनिबार
खेल

पदकले नदिएको खुसी

‘हरेक खेलाडीका लागि पदक जित्नु सुखद क्षण हुने गर्दछ। तर, त्यो दिन पदक जितेको केही क्षणपछि निकै दुःखी भएँ। खेलजीवनकै उत्कृष्ट सफलता पाएको क्षणलाई उत्सव बनाउन नपाउँदा मेरो मन कँुडियो। त्यस दिनबारे अझै पनि मेरो मानसपटल ताजै छ।’

नेपाल राष्ट्रिय तेक्वान्दो टोलीकी सदस्य निमा गुरुङले ओलम्पिक छनोट चरण स्मरण गर्दै भनिन्। कुरा थियो, सन् २०१६ को अप्रिल १७ मा सम्पन्न रियो ओलम्पिकका लागि भएको एसियन तेक्वान्दो ओलम्पिक छनोट चरण। छनोट चरण पार गरेर रियो ओलम्पिक खेल्ने लक्ष्यसहित नेपालबाट चार खेलाडी निमासहित रञ्जन श्रेष्ठ, वीरबहादुर महरा र निशा रावल फिलिपिन्सको राजधानी मनिला गएका थिए। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने बाटो त्यति भने सहज थिएन।  

त्यसअघि छनोट चरण पार गरेर नेपालबाट तेक्वान्दोकै दुई खेलाडी संगीना वैद्य र दीपक विष्टले मात्र विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। हालसम्म पनि यी दुईले भन्दा अन्यले त्यसलाई दोहो-याउन सकेका छैनन्। निमा पनि दीपक र संगीनाको बाटो नजिक पुगेर चुकिन् र अवसरबाट वञ्चित भइन्। निमासहित थप तीन खेलाडीले पनि सोही किसिमको लक्ष्य राखेर मनिला प्रस्थान गरेका थिए। तर, आशाअनुरूपको प्रदर्शन हुन सकेन। छनोट खेलको पहिलो दिन नै तीन खेलाडी रञ्जन, निशा र वीरबहादुर पराजित भए। तीनै जनाले पहिलो चरण पार गर्न सकेनन्।  

यता, पहिलो चरणमा बाई पाएकी निमाले क्वार्टरफाइनलमा भने ओमानकी साब्रा अल साल्टीलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाइन्। त्यससँगै नेपाली टोलीका कोरियाली प्रशिक्षक ली जाई हो र व्यवस्थापक हेमन्त डाँगीसँगै तीन खेलाडी निकै खुसी भए। नहुन् पनि किन ? ओलम्पिक छनोट चरणमा निमा नेपाललाई ऐतिहासिक सफलता दिलाउन एक पाइला मात्र पछाडि थिइन्। सेमिफाइनलमा निमाको प्रतिद्वन्द्वी थिइन्, सन् २०१४ को युथ ओलम्पिककी स्वर्ण र विश्व च्याम्पियनसिपकी कांस्य विजेता इरानकी किमिया अलिजादे।

किमिया युथ ओलम्पिकमा पदक जित्ने पहिलो इरानी महिला थिइन्। तर, उनै किमियासँग सेमिफाइनलमा स्तब्ध भएसँगै निमाको पहिलो बाटो समाप्त भयो। निमालाई हराएकी किमिया छनोटमा च्याम्पियन भइन् र पछि रियो ओलम्पिकमा समेत कांस्य जितेपछि किमिया ओलम्पिकमा पदक जित्ने एक मात्र इरानी महिला भइन्। यता,सेमिफाइनलमा पराजित दुई खेलाडी निमा र फिलिपिन्सकी पाउलिन लोपेज प्रतिस्पर्धा हुने आशामा थिए। त्यति बेला भारतीय प्रशिक्षकले पनि निमाले बधाई दिँदा भनेका थिए, ‘तिमी विशेष खेलाडी रहिछौ। हामी दर्जनौं आएर पनि न छनोट हुन सक्यौं, न पदक नै। तिमीलाई बधाई र शुभकामना।’

क्षणभरमै निमालाई त्यो पदक महत्वहीन लाग्न थाल्यो। खेल करियरकै ठूलो सफलता प्राप्त गरे पनि निमालाई त्यो पदक महत्वहीन लाग्यो। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने निमाको सपना त्यस पटक अधुरै रह्यो।

यद्यपि, भारतीय प्रशिक्षकले भनेजस्तो हुन सकेन। निमाको यात्रा समाप्त भयो। यसअघि एसियाबाट तेक्वान्दोमा तीन खेलाडी ओलम्पिकमा छनोट हुने प्रावधान थियो। दीपक विष्ट र संगीना वैद्यले पनि यसअघि छनोट चरणमा सेमिफाइनलमा पराजित भएपछि अर्का सेमिफाइनलिस्ट नै हराएर ओलम्पिक खेलेका थिए। सन् २०१६ देखि भने एसियाको छनोट चरणबाट दुई खेलाडी मात्र ओलम्पिकमा खेलाइने प्रावधान राखिएको रहेछ। त्यसबारे नेपाली टोलीले पछि मात्र थाहा पायो। त्यससँगै निमाले फिलिपिन्समा सम्पन्न ओलम्पिक छनोटमा कांस्य पदकमै चित्त बुझाउनुप¥यो।

क्षणभरमै निमालाई त्यो पदक महत्वहीन लाग्न थाल्यो। खेल करियरकै ठूलो सफलता प्राप्त गरे पनि निमालाई त्यो पदक महत्वहीन लाग्यो। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने निमाको सपना त्यस पटक अधुरै रह्यो। ‘मैले त्यो दिन करियरको ठूलो सफलता पाएको थिएँ। तर पनि निकै दुःखी भएँ,’ निमाले भनिन्,‘हरेक खेलाडी पदक जित्दा खुसी हुुन्छन्। त्यसअघि म पनि हुन्थें, तर त्यो दिन मलाई कांस्य पदकले खासै खुसी दिएन। केही कुरा अभाव भइरहेको महसुस भयो।’  

दुई पटक सागमा स्वर्णनजिक पुगेर चुकिन्  
नेपाली तेक्वान्दोको राष्ट्रिय टोलीकी सदस्य निमा गुरुङ जति सरल र शान्त स्वभावकी छन्, उनको खेल शैली भने आक्रामक र प्रतिद्वन्द्वीलाई रक्षात्मक खेल्नुपर्ने बाध्यात्मक हुने गर्दछ। निमाले विजय हासिल गरेको खेलमा उनी हाबी हुनु स्वाभाविक हो, तर, पराजयको सँघारमा हुँदा पनि प्रतिद्वन्द्वी हरेक क्षण उनको आक्रामक खेलशैली रोक्न संघर्षरत हुने गर्दछन्। अझ भनौं खेल निर्णय हुनु अन्तिम पलसम्म उनी हार स्विकार्दिनन्।

त्यसैले पनि नेपाली तेक्वान्दोमा निमालाई हरेक प्रतियोगिताअगाडि पदक सम्भावना बोकेकी खेलाडीको रूपमा हेरिन्छ। उनको मिहिनेत र खेल शैलीले पनि प्रशिक्षकसँगै खेलप्रेमीलाई निमाबाट पदक आशा हुनु स्वाभाविक हो। यद्यपि, उनी आशालाई पूर्ण रूपमा सही साबित गर्न भने चुकिरहेकी छन्। धेरै पटक स्वर्णिम क्षणनजिक पुगेर पनि निमालाई असफलता मिलेका उदाहरण छन्। भारतमा सन् २०१६ मा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा पनि उनी स्वर्णनजिक पुगेर चुकिन्। त्यति बेला सेमिफाइनलमा उनले ओलम्पिक छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी अनुभवी अफगानी खेलाडीलाई हराउँदै स्वर्णको भिडन्त तय गरेकी थिइन्।  

फाइनलमा भारतीय प्रतिद्वन्द्वी लतिका भण्डारीलाई अन्तसम्म दबाबमा राखे पनि अन्तमा १७–१५ ले हार्न पुगिन्। गत १३औं सागमा पनि निमा स्वर्णनजिक पुगेर चुकिन्। भारतीय प्रतिद्वन्द्वी कसिस मलिकविरुद्ध निकै दबाब बनाए पनि निमाले ७–६ स्कोरले हार बेहोरेपछि दोस्रो पटक स्वर्ण जित्नबाट चुकिन्। निमा भन्छिन्,‘हरेक पटक स्वर्णनजिक पुगेर चुक्दा भाग्यले पनि साथ नदिएको हो कि भन्ने लाग्छ। कहिलेकाहीं गुरुहरू र सहकर्मीले ट्रेनिङमा मिहिनेत गर्छांै, तर पनि किन हार्छौ भन्दा एकदम दुःख लाग्छ। मैले धेरैको आशालाई निरास बनाएको छु जस्तो लाग्छ।’ तथापि आफू कहिले निरास नहुने भन्दै निमाले दृढ संकल्पका साथ भन्छिन्,‘जबसम्म सागमा स्वर्ण जित्दिनँ, त्यति बेलासम्म खेललाई निरन्तरता दिन्छु।’

चोटसँग लडाइँ  
निमाले दुई सागसँगै दुई एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन्। सागका प्रतिस्पर्धाजस्तो एसियाडमा भने निमाको प्रदर्शन राम्रो बन्न सकेको छैन। पहिलो पटक सन् २०१४ मा कोरियामा सम्पन्न १७औं एन्चोन एसियाडमा निमाको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो। तर, उनी पहिलो चरण पार गर्न असफल भइन्। सन् २०१९ को इन्डोनेसियाको १८औं एसियाडअघि निमासहित नेपाली तेक्वान्दो टोलीले करिब तीन महिना तयारी गरेका थिए। त्यसै क्रममा घुँडामा (एन्कल) चोट बोकेपछि उनले इन्डोनेसियामा खासै राम्रो प्रदर्शन गर्न सकिनन्।

त्यही चोटबाटै एसियाडसँगै उनले सागमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। तर हरेक प्रशिक्षण र प्रतिस्पर्धामा निमालाई चोटले सताउने गर्छ। ‘सायद, त्यति बेला प्लास्टर गरेको भए अहिले गाह्रो हुँदैनथ्यो जस्तो लाग्छ। त्यसैले अहिले पनि पछुतो मानिरहेको छु ,’ निमा भन्छिन्।  

मोटी निमाको खेल यात्रा  
पातली र अग्ली निमाको खेल यात्रा स्वयम्भूको छ्यासीकोट तेक्वान्दो डोजाङबाट सूरु भएको थियो। सानोमा निमा एकदम मोटी थिइन् रे। ९ वर्षमा अत्यधिक मोटोपनका कारण निमाकी आमाले तौल घटाउन डान्स प्रशिक्षणतर्पm लगाइदिन्। तर, त्यसबाट खासै सुधार भएन। त्यसपछि खाली जग्गामा मार्सल आट्र्स खेलाइरहेको देखेपछि उनकी आमाले उनलाई मार्सल आट्र्समा भर्ना गरिदिइन्। त्यही मोटो शरीरबाट रंगशालामा भएको प्रतिस्पर्धा खेल्दा धेरै हाँसेको उनको मानसपटल ताजै छ। ‘त्यति बेला गुरुले जुनियरमा खेलाउन रंगशालामा ल्याउनुभयो। तर मेरो तौल अत्यधिक भएपछि गुरुले सिनियरतर्पm खेलाइदिनुभयो। मेरो किक र स्टेपिङ निकै खराब थियो, त्यो देखेर धेरै जना हाँसेका थिए। तर पछि खेल्दै जाँदा तौल धेरै घट्यो,’ निमाले भनिन्।

खेल्दाखेल्दा तौल सुधारसँगै उनले खेलमा पनि निकै प्रगति गरिन्। तौल घटाउन खेल सुरु गरेकी निमाका लागि त्यो लक्ष्य बनिसकेको थियो। त्यसैले खेल सुधार गर्न उनी राम्रो प्रशिक्षण हुने आशामा कयौं डोजाङ पनि धाउँथिन्। उनी आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो भइन्। कोरियन एम्बेसडरमा तेस्रो भएपछि भने उनी राष्ट्रिय टोलीको ‘बी’ टिममा परिन्। सन् २०१० को गोङझाउ एसियाडको छनोटका लागि महाराजगन्जको सम्पन्न प्रतियोगितामा खेलिन्। त्यहाँ उनको प्रतिद्वन्द्वी थिइन्, त्यस समयकी उत्कृष्ट खेलाडी आयषा शाक्य। तर एसियाडकी पदक विजेता आयषाबारेमा निमा जानकार थिइनन्।  

८ कक्षामा पढ्दै गरेकी निमाले त्यस छनोटमा आयषासँग धैरै कुटाइ खाइन्। ‘त्यो खेलपश्चात् बसमा रुँदै घर फर्किएकी थिएँ। मुखमा धेरै चोट लागेका कारणले करिब एक महिनासम्म दूधभात खाएँ। त्यो चोटपछि चाहिँ मैले धेरै गर्नु बाँकी रहेछ भन्ने लाग्यो। त्यसपछि नै मेरो खेल जीवनमा परिवर्तन आयो,’ निमाले भनिन्। राष्ट्रिय टिमसँगै प्रशिक्षण गर्न थालेपछि सुधार आयो। माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेपछि राष्ट्रिय टिममा परिन् र सन् २०१४ को इन्चोन एसियाडमा नेपाली टोलीबाट आफ्नो पहिलो प्रतिस्पर्धा गरिन्।  

प्रकाशित: २७ श्रावण २०७७ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App