८ वैशाख २०८१ शनिबार
खेल

मल्ल गोलरक्षक प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको गोलरक्षक प्रशिक्षकका रूपमा पूर्वगोलकिपर विकास मल्ललाई नियुक्त गरेको छ।

एन्फा प्राविधिक समितिले नेपाली राष्ट्रिय टोलीका पूर्वगोलकिपरसमेत रहेका मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको हो। उनी एक समय नेपाल राष्ट्रिय टोलीका उत्कृष्ट गोलकिपरका रूपमा परिचित थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवम् गोलकिपरसमेत रहेका मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट योगदान दिएका थिए। उनले एएफसी लेभल वान गोलकिपिङ प्रशिक्षण सर्टिफिकेट, एएफपी ‘सी’ कोचिङ लाइसेन्स र फिफा एमए सर्टिफिकेट प्राप्त गरेका छन्।

उनले जापानिज प्रशिक्षक हिरो मित्सुमारुको स्थान लिने भएका हुन्। मित्सुमारु जाइकाबाट भोलिन्टर प्रशिक्षकका रूपमा कार्यरत थिए। मल्लले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटमा गोलकिपिङ प्रशिक्षण सम्हाल्नेछन्। नेपालले घरेलु मैदानमा चाइनिज ताइपेईसँग अक्टोबर ८, अस्ट्रेलियासँग अक्टोबर १३ र जोर्डनसँग नोभेम्बर १२ मा खेल्नेछ। एन्फाले आफ्नो वेबसाइटमा नयाँ गोलकिपिङ प्रशिक्षक नियुक्तिबारे उल्लेख गरे पनि प्राविधिक समितिका प्रमुख कृष्ण थापाले भने आफू नियुक्ति प्रक्रियाबारे अनविज्ञ रहेको बताए।

प्रकाशित: २१ श्रावण २०७७ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App